माइतिघर मण्डलाबाट गोविन्द केसीसहित ७ जना पक्राउ

काठमाडौं। प्राध्यापक डाक्टर गोविन्द केसीसहित सात जना माइतीघर मण्डलाबाट पक्राउ परेका छन्।विभिन्न मागसहित निषेधाज्ञा तोड्न माइतीघरमा प्रदर्शनमा उत्रिएका केसी र उनका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

माइतीघर मण्डल हाल निधेषित क्षेत्र हो। तर, केसीले नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधानले प्रदत्त अधिकार फिर्ता गर्नु पर्ने भन्दै प्रदर्शनमा उत्रिए।

उनले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने, चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अदालतबाट रोकिएकोमा तत्काल अदालतले नै बाटो खोलेर नियुक्ति अघि बढाउनुपर्ने माग राखेका छन्।

यसका साथै गेटामा भएको सम्झौता भएबमोजिम स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउनुपर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरुमा राजनीतिक भागबन्डाको अन्त्य गरी योग्यताका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्ने, सरकारी अस्पतालमा दरबन्दी थप गर्नुपर्ने र औषधि निस्शुल्क गर्नुपर्ने माग उनले राखेका छन्।