बम्जनमाथि आरोपका चाङ,प्रमाण पुर्याउनै सकस

काठमाडौं। बर्षौंदेखि प्रहरीको खोजीमा रहेका ‘तपस्वी’ रामबहादुर बम्जन मंगलबार बुढानिलकण्ठबाट पक्राउ परे।लिटल बुद्ध’ उपनामले समेत चिनिने बम्जनमाथि गम्भीर अपराधका उजुरीको चाङ छ।

‘तपस्वी’ बञम्जनमाथि आनीहरुलाई यौन दुर्व्यवहार गरेकोदेखि अनुयायीहरुलाई बेपत्ता बनाएसम्मको गम्भीर आरोप लाग्दै आएको छ। सोही प्रकरणमा चार वर्ष अघि उजुरी परेपछि सर्लाही जिल्ला अदालतले बम्जनलाई पक्राउ गर्न आदेश दियो। त्यसयता उनी बेपत्ता थिए। तर उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गर्यो।

बम्जनलाई नियन्त्रणमा लिन प्रहरीले ठूलै मेहनत गरेको थियो। करिब १२ दिनको पूर्वतयारीपछि बम्जन पक्राउ पर्न सफल भए।

पक्राउ पछि बम्जनलाई प्रहरीले बुधबार सार्वजनिक गर्यो। साथै उनीमाथि प्रहरीले थप अनुन्धान गरिरहेको छ।

केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)को कार्यालयमा समेत बुधबार बम्जनलाई केरकार गर्योे । तर उनीबिरुद्ध परेको उजुरी र आरोपसम्बन्धी कुनै प्रमाण प्रहरीले भेटाउन सकेको छैन । हुनत बम्जनविरुद्ध सर्लाहीमा मात्रै होइन बारा, मकवानपुर र सिन्धुलीमा पनि उजुरी परेका छन् ।

प्रहरीले उनलाई ज्यान मुद्धा, जबरजस्ती करणी, यौन दुराचार र ठगी मुद्धामा पक्राउ गरेको हो। तर बम्जन पक्राउ परिसकेपछि पनि प्रहरीले उनीविरुद्धको आरोप पुष्टि हुने आधारहरु प्रष्ट रुपमा फेला पर्न सकेको छैन।

प्रमाण अभावमै बम्जनलाई हाल काठमाडौंबाट सर्लाही जिल्ला अदालमा पठाइएको प्रहरी स्रोतको भनाइ छ । बुधबारसम्मको वयान र सोधपुछ पछि उनलाई अहिले सर्लाही लगिएको छ।

सर्लाहीमा पनि सिआइबीको टोलीनै संलग्न भएर अनुसन्धान गर्ने जनाइएको छ। जिल्ला अदालतले २०७६ माघ २३ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसयताबाटै बम्जनमाथि लागेको अभियोग पुष्टि गर्न बलियो प्रमाण जुटाउने प्रयासमा प्रहरी लागि परेको छ।

जसका लागि प्रहरीले बम्जन बस्ने आश्रमहरूमा पनि छापा मार्यो। सिन्धुलीमा अनुयायीलाई यौन शोषण गरी हत्या गरेको आरोप लाग्ने वित्तिकै २०७७ माघमा पनि जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली उनलाई पक्राउ गर्न कमलामाई नगरपालिका–८ पैरेस्थित बोधी–श्रवण धर्म संघ मैत्री सेन्ट्रल अफिसमा पुगेर खोजतलास गर्यो। तर त्यहाँ पनि केही थान नुनका पोकाबाहेक कुनै सामग्री फेला पार्न सकेन। त्यसपछि प्रहरीले उनीमाथि लागेको आरोप पुष्टि गर्न थप आधार फेला पार्न सकिरहेको छैन।

प्रहरीले तीनै नुनको पोकालाई नै आधार मानेर अनुयायीको ज्यान लिएपछि शव गलाउन प्रयोग गरेको हुनसक्ने आशंका गर्दै आएको छ।

पक्राउ परिसकेपछि प्रहरीले बुधबार बिहान करिब तीन घन्टा बम्जनलाई केरकारसमेत गरेको थियो । तर कुनै प्रतिफल प्राप्त हुन सकेन। प्रहरीका अनुसार उनले सोधपुछका क्रममासमेत धार्मिक कुरा मात्रै गरे।

उनले आफूमाथि लागेको सबै आरोपबारे केही जानकारी नभएको भन्दै अनभिज्ञता प्रकट गरे। आफू तपस्वी भएकाले लाखौं भक्तजन आउने गरेको र सो क्रममा को कहाँ जाने वा त्यसबारे आफूलाई केही जानकारी नभएको प्रहरीसामू बताए।

बरु आफू ४ वर्षदेखि नेपाल र भारतका जंगलमा तपस्या गर्दै बसेकोले प्रहरीले आफूलाई खोजीको सूचीमा राखेकोसमेत थाहा नभएको बताए। आफूविरुद्ध उजुरी लागेको थाहा भएको भए बरु आँफै प्रहरीसामु उपस्थित हुने बताएको प्रहरी स्रोतको भनाइ छ।

बम्जनमाथि लागेका आरोपहरु

नुवाकोट जिल्लाको साविक देउराली गाविस, हाल मेघाङ गाउँपालिका ३ निवासी चुन्मो भन्ने २९ वर्षीय चिनिमाया तामाङ बेपत्ता पारेको बम्जनमाथि आरोप छ। तामाङ सिन्धुपाल्चोकको बाँडेगाउँ बम्जनको आश्रमबाट २०६९ असोजदेखि बेपत्ता भएको बताइन्छ।

मकवानपुरको हेटौडा उपमहानगरपालिका १३ निवासी ५१ वर्षीय सन्चलाल वाइवा तामाङ २०७२ चैतदेखि सिन्धुपाल्चोकको बाँडेगाउँ आश्रमबाटै बेपत्ता बनाएको पनि बम्जनमाथि आरोप छ। सञ्चलाल २०७१ चैत १४ मा अन्तिम सम्पर्क रहेका थिए।

मकवानपुर हेटौडा उपमहानगरपालिका १६ हटिया निवासी डोल्मो भन्ने ३० वर्षीया फूलमाया रुम्बा २०७३ माघदेखि सिन्धुपाल्चोकको बाँडेगाउँ आश्रमबाटै बेपत्ता भएकाले उनलाई पनि बम्जनले नै बेपत्ता पारेको आरोप छ।

त्यस्तै बाराको सिमरा उपमहानगरपालिका १५ बडहर्वा निवासी ३४ वर्षीय सुरेशकुमार आलेमगर २०७२ जेठदेखि बाराको निजगढ नगरपालिका १२ खुमजोरस्थित आश्रमबाट बेपत्ता छन्। उनलाई पनि बम्जनले नै बेपत्ता बनाएको आरोप छ।

यसका साथै बम्जनविरुद्ध आनीहरुमाथि बलात्कार गरेको आरोपसमेत लागेको छ।

 

प्रहरीको फरार सूचीमा रहेको झण्डै पाँच वर्षपछि बम्जान पक्राउ पर्नुले बेपत्ताहरुको यथार्थता पत्तो लाग्ने आशा बढेको छ। प्रहरीले उनीमाथि लागेको आरोप पुष्टी गर्ने आधारहरु खोजीरहेपनि अझैसम्म ठोस आधार फेला पार्न सकेको छैन।

हालसम्मको वयानमा प्रहरीसामु उनले जे–जे भनेपनि उनीसँग जोडिएर आएको सबै घटनाहरुमा बम्जनकै संलग्नता रहेको पुष्टि गर्ने सामान्य आधारहरु भने छन्। बम्जनको विलासी मनस्थिति र पक्राउ गर्नेक्रममा भाग्ने प्रयन्त गर्नु पनि उनको यी अपराधहरुसँग सम्बन्ध रहेको हुनसक्ने प्रमाणहरु हुन। साथै प्रहरीले खोजी सूचीमा राखेपछि ४ वर्षसम्म किन लुके? यी साथै उनको घरमा भेटिएको करोडौँ रकमले समेत उनको विलासीताको उजागर गर्छ।

यी र यस्ता समान्य प्रमाणहरुले समेत उनको यो अपराधिक घटनामा सम्बद्धताको हुनसक्ने संकेत गर्छ। तर जेहोस् अहिले यो घटनाको समबन्धमा अनेक टिप्पणी गर्न सान्दर्भिक नहोला। बम्जनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। बम्जनबारे थप तत्थ अनुसन्धानले नै खुलाउँला।