आज माघे सङ्क्रान्ति पर्व मनाइँदै
काठमाडौं । आज माघे संक्रान्ति पर्व मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ।
थारु र मगर समुदायले माघ १ गतेलाई विशेष उल्लासका साथ मनाउने गर्दछन्। उनीहरुले आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दैछन्। कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड लगायतका विशिष्ट व्यक्तित्वलाई निम्तो गरिएको छ।
थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन्। थारु समुदायले माघ १ गतेदेखि गाउँको नयाँ नेतृत्व चुन्ने, नयाँ कामको थालनी गर्ने, नयाँ वर्षको योजना बनाउने लगायतका काम गर्दछन्।
माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण शुरु हुने दिनको स्नान,जप,तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ। यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ। यी ठाउँमा पनि आज मेलासमेत लाग्ने गर्छ।
तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्। वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्।
बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ।