महाबौद्ध एरियाका ‘हुण्डी डन’ १४ लाख नगद र १७ थान चेकसहित पक्राउ

काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको महाबौद्ध क्षेत्रमा हुण्डी कारोबार गर्दै आएका कुख्यात दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट १३ लाख ७५ हजार रुपैयाँ नगद र ७ लाख ९७ हजार रुपैयाँ बराबरको १७ थान बैंक चेक बरामद भएको छ।

काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका-५ घर भई काठमाडौं कपन बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवन राप्ती नगरपालिका-४ घर भई काठमाडौं सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतमलाई प्रहरीले गत बिहीबार बेलुकी नै पक्राउ गरेको थियो। अनुसन्धान प्रयोजनका लागि उनीहरू पक्राउ परेको विषय प्रहरीले गोप्य राखेको थियो।

गौतमद्वयले काठमाडौं महानगरपालिका-२२ महाबौद्ध एरियामा नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डीमार्फत वित्तीय कारोबार गरिरहेको सूचना प्रहरीले पाएको थियो।

सोही सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दुवै जनालाई काठमाडौं महाबौद्धबाट पक्राउ गरेको हो।

भीमसेनको साथबाट नगद ८ लाख रूपैयाँ,राजु गौतमको महाबौद्धस्थित राधाकृष्ण जनरल स्टोरबाट नगद ५ लाख ७५ हजार रूपैयाँ र ७ लाख ९७ हजार रूपैयाँ उल्लेखित विभिन्न बैंक तथा सहकारीहरूको १७ वटा चेक समेत प्रहरीले बरामद गरेको छ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।