त्रिशुलीमा खसेको गाडी भारतीय बोलेरो भएको पुष्टि, मानिस भेटिएनन्

काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डबाट त्रिशुली नदीमा खसेको गाडी बोलेरो (सिंगल क्याविन) भएको खुलेको छ।

सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पानी भित्र गएर खोजी गर्दा बोलेरो गाडी भेटिएको हो। तर गोताखोरको टोलीले गाडीमा कुनै पनि मानिस नभेटिएको जनाएको छ।

मंगलबार बिहान करिब ४ः५० बजेतिर इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट गाडी खसेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

गाडी खसेको सूचनापछि नेपाल प्रहरीसँगै उद्धारका लागि सशस्त्र प्रहरीको टोली समेत परिचालन भएको थियो। नम्बर प्लेट फेला परेअनुसार नदीमा खसेको गाडी भारतीय हुनसक्ने आकलन गरिएको छ।