भिजिट भिसामा हुने ‘सास्ती’ र ‘सेटिङ’ बन्द गर्न प्रधानमन्त्रीको निर्देशन

फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती झेल्नु परेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन्।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, मुख्यसचिव डा.वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँग बुधबार भएको छलफलमा प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिएका हुन्।

छलफलमा प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको उल्लेख गर्दै तत्काल सहज वातावरण सिर्जना गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले भने,भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि ‘सेटिङ’ मिलाएर पठाउने गरेको गुनासो मैले सुनेको छु, भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नुरगराउनु होला। जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला।

प्रधानमन्त्रीले पालिकास्तरसम्म गएर वैदेशिक रोजगारी र भिजिट भिसाबारे चेतनामूलक कार्यक्रम गर्न, राष्ट्र र जनताको हितमा काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।