राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियरसहित २ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले राहदानी विभाग त्रिपुरेश्वरको परिचय पत्र शाखाका तत्कालीन करारमा कार्यरत कम्प्युटर इन्जिनियर प्रदिप भट्टराइसहित दुई जनाविरुद्ध मुद्दा दायर गरेको हो।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईले सेवाग्राहीहरुलाई राहदानी बनाइदिने भनी रकम लिएको पाइएको छ।
उनले सेवाग्राहीसंग ३४ हजार रुपैयाँ घुस रिसवत माग गरी लिइएको पुष्टि भएको आयोगको दाबी छ। उनीसंग सोहि रकम बराबरको बिगो माग गरिएको छ।
त्यस्तै, प्रतिवादी सुमी धामी भन्ने सुमित्रा सापकोटाले घुस लिने दिने कार्यमा प्रदिप भट्टराईसँग मिलेमतो गरी घुस वापतको रकम प्रतिवादी प्रदिप भट्टराईको खातामा जम्मा गरेको समेत पाइएकोले सापकोटाले प्रतिवादी प्रदिप भट्टराईको घुसररिसवत लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन दिएको पुष्टि भएको छ।
सापकोटासंग बिगो ३४ हजार रुपैयाँ कायमै गर्दै आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।