माओवादीमा वर्षमान–जनार्दन ‘किक आउट’ नेतृत्वमा अब को ?

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्व हस्तान्तरणको स्थिति बनिनसकेको दावी गरिरहँदा यसबारे विभिन्न कोणबाट विश्लेषण हुन थालेका छन्।

माओवादी विधान सम्मेलनको सम्मुखमा प्रचण्डले आफूबाहेकले पार्टी नेतृत्व गर्न नसक्ने दाबी किन गरे? प्रचण्डले आफ्नो उत्तराधिकारीको रुपमा कसलाई अघि सार्न खोज्दैछन् त?

पछिल्ला दिनहरुमा माओवादी केन्द्र गम्भीर संकटमा फसिरहेको छ । माओवादी केन्द्र टुटफुट मात्रै नभएर जनमत संकटमा समेत फसिरहेकै छ।

पार्टीका नेताहरु विभिन्न स्वार्थमा केन्द्रित हुनेदेखि विभिन्न अपराधका घटनामा मुछिनेक्रम बढेकै कारण पनि माओवादीप्रति आम जनताको विश्वास कम हुँदै गएको दैखिन्छ। सत्ताको नेतृत्व सम्हालेको माओवादी जनमत उकास्नेभन्दा किन कमजोर बन्दै गएको छ त ? यो विषयमा बहस छलफल हुन सकेको देखिन्न।

माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको बेला सरकारको कामले पार्टीको क्रेज बढ्नुको सट्टा यसले किन सकारात्मक परिणाम दिन सकेन रु

चार महिना विशेष रुपान्तरण अभियान पनि खासै उपलब्धिमूलक किन बन्न सकेन? यस्ता तमाम प्रश्नको हल खोज्नुको सट्टा माओवादी आन्तरिक किचलोमा थप जकडिदै गएको देखिन्छ।

माओवादी केन्द्रले फागुन १ देखि ३ गतेसम्म गर्ने विधान सम्मेलनमा प्रचण्डलाई सर्वोपरि ठान्ने गरि गरिएको निर्णयमा दोश्रो तहका नेतहरुले चित्त बुझाउन सकेका छैनन्। तर, उनीहरु खुलेरै प्रचण्डको विरुद्धमा बोल्न पनि सकेका छैनन्।

पार्टीमा नेतृत्वको तयारीमा रहेका नेताहरुले प्रचण्डमाथि गरेको अविश्वास, सरकारका काममाथि सहयोग नगरेको लगायतका विषयलाई लिएरै प्रचण्डले पार्टी नेतृत्वको विकल्प तयार नभइसकेको दाबा गरे।

प्रचण्डले पार्टी नेतृत्वका लागि नयाँ पुस्ता आउनेक्रम जारि रहेको र विभिन्न वाम घटकसँगको एकतामा पहल गर्नुपर्ने दाबी समेत गरे भने उनले पार्टी नेताहरुले जनयुद्धविरुद्धका घटनामा प्रतिवाद गर्न नसकेकोमा समेत चित्त दुखाएको देखिन्छ।

माओवादी नेतृत्वमा अब को ?

माओवादी महासचिवमा हानाथाप गरेका वर्षमान पुन र जनार्दन शर्मा नै पार्टी नेतृत्वको आकांक्षी हुन्। हुनत वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समेत शीर्ष तहमा छन्। तर, उनलाई माओवादी केन्द्रको नेतृत्व हस्तान्तरण गर्ने सम्भावना अत्यन्तै कम छ।

नारायणकाजीलाई पार्टी नेतृत्व सुम्पिन प्रचण्ड आफै पनि तयार छैनन्। यस्तो अवस्थामा प्रचण्डले नेतृत्वमा ल्याउने भनेका नेताहरुको अनुहार वर्षमान जनार्दन नै हुन्। तर, प्रचण्डले यी दुई नेताहरुलाई सन्तुलनमा ल्याउन पनि समान हैसियतमा राख्ने तर तलमाथि नगर्ने रणनीति अख्तियार गरेका छन्।

यसकारण नै हुनुपर्छ प्रचण्डले नेतृत्वमा आफ्नो विकल्प नभएको मात्रै भनेनन्,नयाँ पुस्ता आउनेक्रमसँगै पार्टी एकता र ध्रुविकरणलाई जोड दिए।

यसको अर्थ माओवादी केन्द्रमा खोज्न थालिएको छ। प्रचण्डले पार्टी एक हुँदै कुनैबेला नेत्रविक्रम चन्द ’विप्लव’लाई उत्तराधिकारीको रुपमा हेर्ने गरेका थिए।पार्टीका आन्तरिक बैठक होस वा कुनै कार्यक्रममा नै किन नहोस, उनले विप्लवलाई अघि सार्ने कोसिस गरेका उदाहरण छन्।

यस्तोमा अहिले प्रचण्डले उनै विप्लव नेतृत्वको पार्टीलाई पनि माओवादी केन्द्रसँग मिसाउने प्रयत्नलाई तीब्र पारेका छन्। यता विप्लव पनि पार्टी एकताका लागि लगभग सहमत भइसकेको देखिन्छ।

विप्लवले केन्द्रीय समिति बैठकबाटै वाम एकताको विषयलाई जोडतोडले उठाउने भएको छ। प्रतिबन्धदेखि विभिन्न हन्डर खाएका विप्लव पनि समाजवादी मोर्चा हुँदै एकतामा आउने तयारीमा देखिन्छन्।यहि दृश्यलाई हेरेर पनि उनले नेतृत्वबारे नयाँ शीराबाट बहस थालेको आशंका गरिएको छ।