यू–१९ विश्वकपः सुपर सिक्समा नेपाल र बंगलादेश खेल्दै
काठमाडौं । आइसीसी यू–१९ विश्वकप अन्तर्गत नेपालले सुपर सिक्स चरणको पहिलो खेलमा बंगलादेश संग खेल्दैछ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा हुने खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । बंगलादेश आजको खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राख्ने सुरमा हुनेछ । यता नेपालको भने सेमिफाइनलमा पुग्ने सम्भावना टुंगिसकेको छ ।
बंगलादेशले समूह चरणमा आयरल्याण्ड र अमेरिकालाई हराउँदा भारतसँग भने हार बेहोरेको थियो । यसपछि सुपर सिक्सको खेलमा पाकिस्तानसँग खेल्न बाँकी छ । यस्तो अवस्थामा दुवै खेल जिते रनरेटको आधारमा बंगलादेश अघि बढ्ने सम्भावना रहन्छ ।
नेपालले भने सुरुवाती दुई खेलमा न्युजिल्यान्ड र पाकिस्तानसँग हार बेहोरेको थियो । त्यसपछि अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा स्थान बनाउन सफल भएको थियो।
नेपालले यसअघि विश्वकपमा बंगलादेशसँग दुई पटक खेलेको छ । सन् २००२ मा २३ रनको जित दर्ता गरेको नेपालले सन् २०१६ को संस्करणमा भने हार बेहोरेको थियो।