व्यवसायी अरूण चौधरीसहित तीन विरुद्ध कीर्ते र ठगी मुद्दा

काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरूण चौधरीसहित तीन जनाविरुद्ध कीर्ते तथा ठगी मुद्दा चलाइने भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले व्यवसायी चौधरी, च्याम्पियन्स फूटवेयर प्रालिरसीजी चाँदवाग रेसिडेन्सी प्रालिका सञ्‍चालक सञ्‍जय ठाकुर र तत्कालीन बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडका अध्यक्षरच्याम्पियन्स फूटवेयर लिमिटेडका सञ्‍चालक समिति अध्यक्ष अजितनारायण सिंह थापाविरुद्ध मुद्दा चलाउने जानकारी दिएको हो।

अरूण चौधरी विवादास्पद व्यापारी विनोद चौधरीका कान्छा भाइ हुन्‌। उनी तत्कालीन च्याम्पियन्स फूटवेयर लिमिटेडका शेयरधनी तथा सञ्चालक एवम्‌ हालको सीजी चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक हुन्‌। उनै चौधरीले बाँसबारीको जग्गा हडप्दा मालपोत कार्यालयमा लिखतहरूमा सहीछाप गरेको सीआईबीले जनाएको छ।

यो मामिलामा लामो समय अनुसन्धान गरेरै चौधरीलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । नेपाल सरकारको जमिनलाई तत्कालीन श्री ५ को सरकारको कुनै निर्णयबिनै बाँसबारी छालाजुत्ता कारखानाका अध्यक्ष थापाले कुनै एउटा कम्पनीको नाममा शेयरको रूपमा लिएर विस्तारै त्यसलाई आफ्नो प्राइभेट कम्पनीमा बदलेको सीआईबीको ठहर छ।

यसरी सरकारी जग्गा निजी सम्पत्तिमा बदल्न शेयरकै नाममा बाँसबारीजस्तो महत्वपूर्ण ठाउँमा रहेको १० रोपनी जग्गालाई २६ लाख रुपैयाँमा निजी सम्पत्तिमा परिणत गरेको देखिएको सीआईबीले जनाएको छ।

अरूण चौधरी र बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितकुमार सिंह थापालाई बिहीबार पक्राउ गरेको थियो। राजनीतिक र प्रशासनिक साँठगाँठमा चौधरी समूहले कारखानाको कम्तिमा १० रोपनी जग्गा हत्याएर चाँदबाग स्कूल सञ्चालन गरिरहेको छ।

चौधरी र थापालाई पक्राउ गरी सीआईबीले अनुसन्धानका लागि अदालतबाट ४ दिनको म्याद लिएको थियो। तर म्याद लिएर फर्काउँदै गर्दा बीच बाटोबाटै उनीहरूलाई महाराजगञ्जस्थित चिरायू अस्पतालमा भर्ना गरिएको थियो। चिरायू अस्पतालले रेफर गरेपछि उनीहरू हाल टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना भएका छन्।