देशभरका सहकारीलाई छानबिनको दायरमा ल्याउनुपर्छ: सांसद मोदी

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले देशभरकै सहकारी संस्थालाई छानबिनको दायरमा ल्याउन माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्।

उनले जनताले खाइनखाइ आफ्नो श्रम र पसिनाबाट आर्जित गरेको पैसा सहकारीमा बचत गरेको तर, त्यस्ता लाखौं लाखौं जनताको पैसा दुरुपयोग भइराखेको उल्लेख गर्दै ती सहकारीहरुमाथि छानबिनको माग राखेका हुन्।

सांसद मोदीले भने, ‘बचत गरेको पैसा न जनताले फिर्ता पाएको छन्, न सम्बन्धित मान्छेहरुले कारबाही भोगेका छन्। म सरकारलाई विशेष अनुरोध गर्न चाहन्छु– देशभरका सहकारीलाई छानबिनको दायरमा ल्याउनुपर्छ।

सहकारीलाई छानबिनमा ल्याएर कमिकमजोरी भए नियामक संस्थाले कारबाही गरी जनताको पैसा फिर्ता गराउनुपर्ने उनको भनाइ छ।