सेवाग्राहिको करोडौ रकम ‘कुम्ल्याएर’ प्रभु बैंकका कर्मचारी फरार
रुकुमपश्चिम। रुकुमपश्चिमको आठविसकोट नगरपालिकाको केन्द्र राडी बजारस्थित प्रभु बैंकका एक कर्मचारी ग्राहकको करोडौं रकम हिनामिना गरेर फरार भएका छन्।
बैंकको अप्रेशन इञ्चार्ज पदमा कार्यरत निराजन शाहले बतचकर्ताको करोडौ रुपँयाँ हिनामिना गरेको गुनासोपछि बैंकले आन्तरिक छानबिन अगाडि बढाएको छ।
झुठ्ठा विवरण र खातावालाको जानकारी बिनै बैंकमा जम्मा गरेको रकम खातामा नभएपछि रकम हिनामिना भएको रहस्य खुलेको हो।
अहिले आठविसकोट शाखामा छानबिनका लागि प्रभु बैंकको कर्णाली प्रदेशबाट एक टोली पुगेको छ। टोलीले आन्तरिक छानबिन गरिरहेको छ भने उक्त शाखामा कार्यरत सबै कर्मचारीलाई कारबाहीको प्रक्रिया सुरु भएको बैंक व्यवस्थापनले जानकारी दिएको छ।
शाखामा कार्यरत नौ जना कर्मचारीलाई जिम्मेवारविहीन बनाएर पाँच जना नयाँ कर्मचारीको टोली खटाएको शाखा प्रबन्धक डम्बर गौतमले जानकारी दिएका छन्।
अप्रेशन इञ्चार्ज शाहले तोकिएको जिम्मेवारीको दुरुपयोग गरेर एक करोड बढी रकम हिनामिना गरेको हुनसक्ने देखिएको उल्लेख उनले बताए। कति बचतकर्ताको कति रकम दुरुपयोग भयो भन्ने बिषय सम्पूर्ण छानबिनपछि मात्र खुल्ने उनले बताएका छन्।
प्रबन्धक गौतमका अनुसार आफू बिदामा बसेको बेला शाहले आफ्नै आइडिबाट विभिन्न व्यक्तिको खाताको रकम ट्रान्सफर गरेको र यसअघि विभिन्न व्यक्तिहरुको रकम खातामा जम्मा गरिदिन्छु भन्दै जम्मा नगरिदिएको देखिन्छ।
विश्वासको आधारमा चेक दिएका र खातामा पैसा जम्मा गर्न भनि पैसा दिएका नजिकका आफन्तहरु पनि अहिले बैंकको कर्मचारीबाट ठगिएको भन्दै गुनासो गर्दै सम्पर्कमा आइरहेका छन्।
पीडितहरुले दिएको जानकारीअनुसार शाहले आठविसकोट नगरपालिका १३ का शंकर पुनको खाताबाट १० लाख, वडा नम्वर ११ का नरेन्द्र बस्नेतको खाताबाट आठ लाख रुपियाँ अन्यत्रै ट्रान्सफर गरेको पाइएको छ।
यस्तै वडा १० का एक जनप्रतिनिधिले आफ्नो छोरीले जम्मा गरिदिनु भनेर दिएको नौ लाख रुपँयाँ इञ्चार्ज शाहले जम्मा नगरेर हिनामिना गरेको भेटिएको छ।
शाखा प्रबन्धक गौतमले यी बाहेक अन्य धेरै बचतकर्ता र सरकारी निकायको रकम समेत दुरुपयोग गरी करोडौ हिनामिना गरेको बताएका छन्। बढी मात्रामा स्थानीय तहको नाममा आएको रकम दुरुपयोग भएको बैंकको भनाइ छ।
रकम निकालेको आरोप लागेका कर्मचारी शाह अहिले बैंकको सम्पर्कमा नरहेको बताइन्छ। शाहले उपचारका लागि भन्दै एक हप्ता पहिला बिदाका लागि निवेदन दिएको तर स्विकृत नभएको शाखा प्रबन्धक गौतमले जानकारी दिएका छन्। यस प्रकरणको छानबिन गरेर आवश्यक कारबाहिको प्रक्रियामा जाने बैंकको भनाइ छ।