भारतीय नागरिकलाई काठमाडौं ल्याएर बन्धक बनाउने ८ जना सार्वजनिक

काठमाडौं। ‘अमेरिका सपना’ देखाएर भारतीय नागरिकहरुलाई काठमाडौंमा ल्याएर बन्धक बनाएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

आरोपीहरुलाई काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले रातोपाटीलाई बताए।

फागुन २ मा काठमाडौं प्रहरीले आरोपीहरुले बन्धक बनाएका ११ जनालाई काठमाडौं महानगरपालिका–९ स्थित रातोपुलबाट उद्धार गरेको थियो।

पक्राउ पर्नेमा भारतीय नागरिकहरु अब्दुल रहिम,इन्दुसिंह यादव, चरणजित सिंह,अशोक कुमार,मनिषकुमार मल्होत्रा, निपुन गुप्ता, मोहम्मद सविर मिया र नेपाली नागरिक रामचन्द्र शर्मा छन्।

आरोपीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। आरोपीहरुविरुद्ध शरीर बन्धक बनाउन नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको काठमाडौँका एसएसपी खत्रीले जानकारी दिए।

पक्राउ गरिएका ८ जना मध्येका नेपाली नागरिक रामचन्द्र शर्माले रातोपुलमा भाडामा घर खोजिदिएका हुन्। उनलाई शरीर बन्धक मुद्दा नचलाउने जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए।