दुर्गा प्रसाईंलाई बैंक तथा वित्तीय संस्थाका छाता संगठनले गरे कारबाही गर्न माग

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूको छाता संगठनहरुले बैंक तथा वित्तीय संस्थाविरुद्ध जथाभाबी बोल्नेलाई कारबाहीको माग गरेका छन्। बैंक तथा वित्तीय संस्थाका ४ छाता संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै जथाभाबी बोल्नेलाई कारबाही गर्न माग गरेका हुन्।

नेपाल बैंकर्स एसोसिएसन, डेभलपमेण्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गरेका हुन्। उनीहरूले देशभरका बैंक तथा वित्तीय संस्थाहरूले वार्षिकरुपमा ३१ अर्बभन्दा धेरै राजश्व बुझाउँदै आएको बताएका छन्।

यस्तै, ८२ हजार जनालाई रोजगारी दिएको समेत छाता संगठनहरुद्वारा जारी विज्ञप्तिमा लेखिएको छ। नेपालको बैंकिङ क्षेत्रले समग्र अर्थतन्त्र तथा मुलुकको आर्थिक विकासमा खेलेको भूमिकाको बारेमा हामी सबै अवगत नै छ,संयुक्त विज्ञप्तिमा लेखिएको छ।

हाल बैंक तथा वित्तीय संस्थाहरूमा ५ करोड ३५ लाख भन्दा धेरै निक्षेप खाताहरू र १८ लाख भन्दा धेरै कर्जा खाताहरू सञ्चालनमा छन्।

देशका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूले मुलुकको कुल ग्रार्हस्थ उत्पादन भन्दा धेरै निक्षेप संकलन गरेका छन्। यस्तै, कुल ग्रार्हस्थ उत्पादन बराबरको कर्जा प्रवाह तथा अन्य बैंकिङ सेवाहरू आफ्ना ६ हजार ४४१ शाखाहरूमार्फत देशभर प्रदान गर्दै आइरहेको बताइएको छ।

साथै, देशको दूर–दराजमा गई ५७ वटा लघुवित्त संस्थाहरूले २८ लाख भन्दा धेरै स–साना ऋणीहरूलाई ४ खर्ब रुपैयाँभन्दा धेरै ऋण प्रवाह गरी आर्थिक रूपान्तरणमा अहम् भूमिका खेलेका छन्।

बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्व बमोजिम बैंक तथा वित्तीय क्षेत्रहरूले ७७ करोड रुपैयाँभन्दा धेरै विविध सामाजिक कार्यहरूमा खर्च गरेका छन्।

तर, पछिल्लो समयमा यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक सञ्जालहरूमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरू प्रति ध्यानाकर्षण भएको र सम्बन्धित व्यक्तिलाई कारबाही गर्न माग समेत गरेका छन् ।