लघुवित्त पीडितलाई मुद्दा नचलाउन एमालेको ध्यानाकर्षण
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले गत सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनबाट प्रहरीको नियन्त्रणमा रहेका लघुवित्त पीडितहरूलाई मुद्दा नचलाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएको छ।
बुधवार नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, एमाले संसदीय दलका सचेतक महेश बर्तौला लगायत एमाले संसदीय दलको टोलीले गृहमन्त्री श्रेष्ठलाई भेट गर्दै यस्तो ध्यानाकर्षण गराएको हो।
गत सोमवार लघुवित्त पीडितहरूको एक समूह संसद् भवन परिसर पसेर नाराबाजी गरेसँगै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
हाल उनीहरूलाई सरकारले प्रहरी नियन्त्रणमै राखेर मुद्दा चलाउने तयारी गरेको छ। एमालेले लघुवित्त पीडितहरूलाई मुद्दा चलाउनु बेठिक हुने भन्दै उनीहरूलाई बिना सर्त रिहा गर्न गृहमन्त्रीलाई आग्रह गरेको छ।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले सचेतक महेश बर्तौलाले लघुवित्त पीडितहरू न्यायको लागि आन्दोलनरत रहेका बताए। उनीहरु सुरक्षा संयन्त्रका कमजोरीका कारण संसद् भवनभित्र प्रवेश गरेकाले मुद्दा चलाउनु नहुने बर्तौलाको भनाइ छ।
त्यस्तै मिटरब्याज पीडितहरू हिँडेरै काठमाडौँसम्म आन्दोलनका लागि आएका भन्दै उनीहरूको माग सम्बोधन गर्ने सुनिश्चितताका साथ घर फर्काउने वातावरण बनाउन पनि माग गरिएको छ।