गृहसहित चार मन्त्रालयमा रास्वपाको बटमलाइन

फाइल तस्वीर

काठमाडौं। नयाँ सत्ता समीकरण बनेसँगै दलहरुबीच शक्ति बाँडफाट बहस सुरु भएको छ।सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा लगायतसँग सहकार्य गरेसँगै नयाँ गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाटको बहस सुरु भएको हो। जसमा सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले चार वटा मन्त्रालय दाबी गरेको छ।

गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले बताए।

रास्वपाबाट उपसभापति डोलप्रसाद अर्याल सोमबारै विना विभागीय मन्त्री बनिसकेका छन्। अब रास्वपाका सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रालय लिएर जाने अडानमा छन्।

मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धन दलहरूको बैठक आज दिउँसो २ बजे बालुवाटारमा बस्दैछ। बैठकमा रास्वपाबाट वाग्ले नै सहभागी हुनेछन्।