यू–१६ महिला फुटबल: आज नेपाल र भारत भिड्दै

काठमाडौं। राजधानीमा जारी साफ यू–१६ महिला फुटबल च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारतबिच प्रतिस्पर्धा हुँदै छ। नेपाल र भारतबिचको खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा सुरु हुनेछ।

चार देश सहभागी यस प्रतियोगितामा बङ्गलादेश लगातार दुई जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ।

आज भारत र नेपालबिचको विजेताले फाइनलमा स्थान पक्का गर्ने भएकाले दुवै टिमलाई जित्नै पर्ने बाध्यता रहेको छ। बराबरीले भने भारतलाई नै फाइदा पुग्ने छ।

भारतले आफ्नो पहिलो खेलमा भुटानमाथि ७–० को जित निकालेको थियो। नेपालले भुटानमाथि ३–० को जित निकालेको छ।

यसैगरी नेपाल आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग २–० ले पराजित भएको थियो। भारत बङ्गलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो।

यसैगरी, भुटान र बङ्गलादेशबिचको समूह चरणको अन्तिम खेल शुक्रबार हुने छ। भुटान दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिर भइसकेको छ। फाइनल खेल आइतबार हुने छ।