सुदूरपश्चिम प्रदेशमा प्रहरी इन्टेलिजेन्स टोली गठन
काठमाडौं। सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले अपराध अनुसन्धानका लागि छुट्टै टोली गठन गरेका छन् ।
तत्कालीन डीआईजी भरतबहादुर बोहराले प्रदेश अनुसन्धान समूह (आरआईटी) खारेज गर्दै पुनर्गठन गरेको पृष्ठभूमिमा अहिलेका डीआईजी केसीले ‘प्रोभेन्स इन्टेलिजेन्स टीम’ (पीआईटी)नाम दिएर छुट्टै टोली गठन गरेका हुन्। उनले प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा पीआईटी गठन गरिएको जानकारी दिए।
उक्त टोलीले प्रदेशका अपराध अनुसन्धान, सहायता र अनुगमन, लागुऔषध, चोरी तस्करी नियन्त्रण र कानुन कार्यान्वयनमा काम गर्ने केसीले बताए।
पीआईटीमा प्रदेशमा उपलब्ध भएसम्म अपराध अनुसन्धानमा विज्ञ, आईटी विज्ञ र सहयोगी प्रहरीलाई समावेश गरिएको उनी बताउँछन्।
उक्त टोलीलाई प्रदेशभरको अनुसन्धानको दिशा कसरी गइरहेको छ?भनेर अनुगमन गर्ने तथा परामर्श दिने अधिकार समेत दिइएको छ। आवश्यकताअनुसार पीटीआईको स्तर वृद्धि गर्दै लगिने समेत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
विगतमा प्रदेश प्रहरी कार्यालयले प्रदेश अनुसन्धान समूह (आरआईटी)गठन गरेको थियो । तर केसी भन्दा अघि प्रदेश प्रहरीको नेतृत्व गरेका डीआईजी बोहराले आरआईटी खारेज गरेका थिए। लगत्तै पुनर्गठन गरेपछि आफू अनुकुलका प्रहरी राखेको आरोप लागेको थियो।
केसी प्रदेश प्रहरीको प्रमुख भएर आएपछि आरआईटीमा कार्यरत प्रहरी कर्मचारीको काम सन्तोषजनक नदेखिएपछि जिम्मेवारी हेरफेर गरेका थिए। जिम्मेवारी हेरफेर गर्दा समेत परिणाम नदेखिएपछि खारेज गर्दै पीटीआई गठन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।