उच्च अदालत दिपायलका रजिष्ट्रार कटवाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं। विशेष अदालत काठमाडौँले उच्च अदालत दिपायल राजपुरका रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

विशेष अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारु र रामबहादुर थापाको इजालसले आइतबार भ्रष्टाचार मुद्दामा कटवाललाई दोषी ठहर गर्दै सजाय सुनाएको विशेष अदालतका उपरजिष्ट्रार तथा प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार कटवाललाई ९ महिना कैद र ४ लाख ९८ हजार ९९५ रूपैयाँ जरिवाना र बिगोबमोजिम असुलउपर गर्न समेत अदालतले आदेश गरेको छ।

कटवालले विभिन्न शीर्षकमा अदालतबाट करिब रु पाँच लाख हिनामिना गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ १६ गते मुद्दा दायर गरेको थियो।