प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

आर्थिक वर्ष २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।

यसअघि गत शुक्रबारको बैठकमा नेपाली कांग्रेसले बेल घेराउ गरेपछि बैठक प्रभावित भएको थियो। कांग्रेसले सहकारी अनियमिततामा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री पदबाट बर्खास्त गर्न माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ।