बालकोट पुगेर ओलीलाई समाजवादी मोर्चामा आउन विप्लवको आग्रह

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चामा आबद्ध हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

बिहीबार साँझ ओली निवास बालकोटमा पुगेका विप्लवले एमालेलाई पनि मोर्चामा आबद्ध हुन आग्रह गरेका हुन्। विप्लव अहिले समाजवादी मोर्चाका अध्यक्ष छन्।

ओलीले सकरात्मक प्रतिक्रिया दिएपछि विप्लवले शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका छन्।

उनले बलियो कम्युनिष्ट शक्ति बनाउनका लागि एमालेलाई पनि मोर्चामा आबद्ध गराउनुपर्ने आफ्नो धारणा रहेको र त्यसका लागि ओलीसँग छलफल गर्न प्रचण्ड र माधव नेपालसँग आग्रह गरेको बताए।

मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन्।