पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाडिएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि उनलाई छाडिएको हो।
सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले महरालाई हाजिरी जमानतमा छाडिएको अनलाइनखबरसँग पुष्टि गरे।
महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले सरकारी वकिलसँग अनुमति मागेको थियो।
प्रहरी कपिलवस्तुबाट महरालाई ५ चैतमा पक्राउ गरेर काठमाडौं ल्याएको थियो। अदालतमा म्याद थप गर्न हाजिर भएका बेला उनको स्वास्थ्य स्थितिलाई ख्याल गर्दै अस्पतालमा राख्न आदेश भएको थियो।
सरकारी वकिल मार्फत प्रहरीले उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागे पनि अदालतले ४ दिन मात्र स्वीकृति दिएको थियो।
अदालतले चार दिन म्याद थप गर्न दिएको अनुमति सम्बन्धी आदेशमा उनलाई टीबी, युरिक एसिड, प्रोस्टेटको समस्या रहेको उल्लेख छ। अनुसन्धान अधिकृतहरुका अनुसार, कमजोर स्वास्थ्यका कारण उनलाई बयानका लागि ल्याउन, लैजान पनि कठिनाइ भएको थियो।
स्वास्थ्य अवस्थालाई ख्याल गर्दै बयान भइसकेकाले बाहिरै राखेर पनि थप अनुसन्धान गर्न मिल्ने सन्दर्भमा उनलाई छाडिएको प्रहरीले जनाएको छ।
महराको चिनियाँ तस्कर गिरोहका एक मुख्य पात्र दावोजिन वाङसँग सम्बन्ध देखिएको थियो। उनले विमानस्थल भन्सारले नियन्त्रणमा लिएको सुन सहितको विद्युतीय सिगरेट (भेप) छुटाउनलाई भन्सार कर्मचारीलाई दबाब दिएको समेत खुलेको थियो।
उनका छोरा राहुल महरा यही मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। महरालाई भने सीआईबीले यसअघि प्रतिवादी बनाएको थिएन। पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित सुन आयोगले उनलाई पनि मुद्दा चलाउन सिफारिस गरेपछि महरा पक्राउ परेका थिए।