गठबन्धनमा रहँदा बागी उम्मेदवार दिनेलाई कांग्रेसले माफी दिने
काठमाडौं। नेपाली कांग्रेसले स्थानीय र आम निर्वाचनमा बागी उम्मेदवार दिने आफ्ना नेतालाई माफी दिने तयारी गरेको छ।
त्यस समय गठबन्धनका उम्मेदवारविरुद्ध विद्रोह गरेका नेता–कार्यकर्तालाई कांग्रेसले कारबाही गरेको थियो। कांग्रेसको अनुशासन समितिले आफ्नो पार्टीका उम्मेदवार नभएको ठाउँमा गठबन्धनमा विद्रोह गर्नेहरूको कारबाही फुकुवा हुने जनाएको छ।
समितिका अनुसार कांग्रेस अनुशासन समितिले २०७९ वैशाखमा भएको स्थानीय गठबन्धनमा माओवादी,एकीकृत समाजवादी र जसपाका उम्मेदवारविरुद्ध बागी दिएकालाई माफी दिने तयारी छ।
यस्तै गत मङ्सिर मा ४ मा भएको आम निर्वाचनमा गठबन्धनमा माओवादी,एकीकृत समाजवादी,लोसपा र जनमोर्चाका उम्मेदवारविरुद्ध उभिएका कांग्रेस नेता–कार्यकर्ताले पनि माफी पाउने छन्।
गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेलाई कांग्रेसले पार्टी निर्देशन उल्लङ्घन गरेको भन्दै पार्टीबाट निष्कासित गरेको थियो। गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएपछि कांग्रेसबाट अजय द्विवेदी,रामकुमार राई,राजन कुँवर,महादेव गुरुङ,धर्मराज पोखरेल लगायतका नेता कारबाहीमा परेका छन्।
कांग्रेस अनुशासन समितिका सदस्य सञ्जय गौतमले चैत १५ गते बस्ने बैठकले कारबाहीको सिफारिसको वर्गीकरण गर्ने बताए। कांग्रेसले केही नेता कार्यकर्ताहरूको कारबाही फुकुवा गरिसकेको छ।