आज देशभर बदली: यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं।हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।

यो प्रणालीको प्रभावका कारण अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा मधेश प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

त्यस्तै कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले बुलेटिन जारी गरेर जानकारी दिएको छ।

तीमध्ये कोशी प्रदेशको एकदुई स्थानमा दिउँसो मध्यम वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

त्यस्तै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

आज राति पनि देशभर आंशिक बदली रही कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति पनि हल्का हिमपात हुने महाशाखाको पूर्वानुमान् छ।