अझै तीन दिन बदली र वर्षाको सम्भावना
काठमाडौं। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्वआसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ।
आइतबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी पहाडी भूभागका चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना महाशााखाले जनाएको छ।
भोलि सोमबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानमा तथा देशको बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै, मंगलबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी भूभागका केहीस्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।