तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता

सांकेतिक तस्वीर

काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन्।

उनीहरू नुहाउन नदीमा जाँदा आइतबार दिउँसो वेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा त्रियुगा –१४ साउनेका ११ वर्षीया बालिका रेखा मगर, सोही स्थानका बालकद्वय ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन् ।

त्रियुगा –१४ का वडाअध्यक्ष हेमराज मगरका अनुसार उनीहरु आज दिउँसो होली खेलेर सुनकोशी नदीमा नुहाउनेक्रममा बेपत्ता भएका हुन्।

पाँचजना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि दुईजना चाहिँ निक्लन सफल भएका थिए। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी हरिनन्दन चौधरीले सुनकोशीमा बेपत्ता भएका बालबालिकाको खोजी जारी राखेको जानकारी दिए।