मुगुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

सुर्खेत। मुगुमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जीप चालक सोरु गाउँपालिका–७, कविराज नेपाली र एक जना महिला रहेकी छिन्। महिलाको पहिचान भने खुल्न नसकेको मुगु प्रहरीले जनाएको छ।

यस्तै उक्त घटनामा चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जना गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार बुधबार दिउँसो साढे दुई बजे कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको जीप सदरमुकाम गमगढीबाट सोरु गाउँपालिकाको तारापानी भन्ने ठाउँतर्फ जाँदै गरेको थियो।

सोरु गाउँपालिका–८, कटिया भन्ने ठाउँमा दुर्घटना भएको हो। दुर्घटनाको प्रकृतिबारे भने अहिलेसम्म बुझ्न नसकिएको उनले बताए। फोन सम्पर्क हुन समस्या भएकाले घटनाको थप विवरण आउन बाँकी रहेको उनको भनाई छ।