बैंकका बचतकर्ताहरु अझै पनि आनन्दसँग बस्ने कि पछि पछुताउने ?
रुषा थापा
विस्तारै वा धैर्यसँग गरेमा हरेक काममा सफल पाइन्छ। तर, हतारमा सोच्दै नसोची वा रिस, आवेगमा आएर गर्दा हुने काम पनि बिग्रिन्छ । छिट्टै धनी हुने वा धेरै नाफा कमाउने आशमा बैंक तथा वित्तिय संस्थाहरुले घरजग्गा, गाडी र सेयरमा लगानी गरे । यता, बचतकर्ताहरुलाई बढी ब्याजको प्रलोभन देखाएर रकम जम्मा गर्न लगाइयो।
आम सर्वसाधारण पनि कुन बैंक, कुन सहकारी वा कुन लघुवित्तले बचतको बढी ब्याज दिन्छ भनेर बुझ्रदै हिडे । एउटै घरमा सात वटा सहकारी र दुई वटा बैंकसम्म सञ्चालन भएको पनि केही वर्षअघिसम्म देखियो । दुई वर्षअघि बैंक, सहकारी र लघुवित्तहरुले निक्षेपको १२ प्रतिशतदेखि २२ प्रतिशतसम्म ब्याज दिने भनेर सर्वसाधारणसँग रकम उठाए ।
सर्वसाधाणले पनि सुरक्षित हुन्छ र ब्याज पनि आइरहन्छ भनेर निक्षेप जम्मा गरे । सहकारीले त झन् बचतकर्ता बढाउन बुढाबुढीलाई लौंरो उपहार, बीमा गराउने, जन्मदिनमा केक काटिदिने, सम्मान गर्नेजस्ता समेत काम गप्यो । बैंक, वित्तिय संस्थाहरुले सर्वसाधारणलाई फर्काएर, चिप्लो कुरा गरेर वा बढी ब्याज दिएर भएपनि आफ्नो संस्थामा बचत गर्न लगायो ।
वर्ष दिनमा साधारणसभा गर्दा पनि ठूल्ठुल्लो होटल, रेस्टुरेन्ट गरिन्थ्यो । महंगा, महंगा खानेकुरा खुवाइन्थ्यो अनि यो साल यति नाफा भयो भन्दै सेयर होल्डरहरुलाई रकम बाँडिन्थ्यो । बैंक, वित्तिय संस्थामा कर्मचारीहरु बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म काम लगाइन्थ्यो भने सञ्चालकहरु भने दिउँसो १ बजे कार्यालय आएर बेलुका ५ बजे नै घर जान्थे ।
यति मात्र नभई एक चोटि मिटिङ्ग बस्दा अध्यक्ष, सञ्चालकहरुले दशदेखि पन्ध्र हजार भत्ता बुझ्रने र गाडीलगायत विभिन्न सेवासुविधा पनि लिन्थे। कर्जा लिँदा पनि यीनीहरु नै घुस खान्थे। दुई करोडको धितो राखेर एक करोड कर्जा प्रवाह गरी दश लाख घुस लिइन्थ्यो। कानूनमा एक प्रतिशत सेवाशुल्क देखाई तीन प्रतिशत लिने र ब्याज पनि १८ प्रतिशत देखाएर ७०–७५ प्रतिशतसम्म असुल्ने।
अनि ऋणीले तीन कित्ता नतिर्नेबित्तिकै दुई करोडको धितो ९० लाखमा खाइदिनेजस्ता काम नै बैंक, वित्तिय संस्थाहरुले गर्दै आएका थिए । कतिपय बैंक, वित्तिय संस्थाका कर्मचारी तथा सञ्चालकहरुले त बचतकर्ताको खातामा भएको रकम पनि चोरेको पाइन्छ । दुई दशकअघि पेट्रोल र डिजेल महंगो थियो भने मटितेल सस्तो थियो ।
तर, पेट्रोल पम्प व्यवसायीहरुले डिजेल र पेट्रोलमा मटितेल मिसाएर बेच्ने गरेको बाहिरिएपछि सरकारले मटितेलको मूल्य पनि पेट्रोल र डिजेल बरारबर नै तोकिदियो । यसरी नै सहकारीले सर्वसाधारणलाई ठगेको पाइन्छ । सहकारीले आफुलाई बैंक भनी भ्रम फैलायो।
अनि नबुझेका, सीधासाधी जनताले उनीहरुको कुरामा आएर बैंकमा राख्ने रकम सहकारीमा जम्मा गरे । किनकि बैंक भाग्दैंन, बैंकमा सरकारको लगानी हुन्छ भनेर जनताले ठाने। उनीहरुलाई थाहा भएन कि सरकारको लगानी रहेको बैंक तीन वटा मात्र छ। राष्ट्रिय वाणिञ्ज बैंक, कृषि विकास बैंक र नेपाल बैंक । यो बैंकमा सरकारको लगानी छ । त्यसैले, यी बैंक भागेमा सरकारको जिम्मा लिन्छ।
प्राइभेट बैंक, सहकारी, लघुवित्त र फाइनान्स ठग, चोर हुन् भनेर आम नागरिकले न बुझे न थाहा पाए । प्राइभेट बैंकमा सबै विदेशीको लगानी छ । त्यसकारण यी बैंक जुनसुकै बेला पनि भाग्न सक्छ। सहकारी, लघुवित्त र फाइनान्स २५ जनाको समूह मिलेर खुलेको संस्था हो । यी संस्था बचतको बानी बसाल्न मात्र स्थापना गरिएको हो ।
तर, सर्वसाधारणले यो कुरा नबुझ्रदा आज करोडौं बचतकर्ताको खर्बौ रकम सहकारीमा मात्र डुबेको छ । अहिले ‘क’ वर्गको बैंक पनि डुबिसकेको छ । यी बैंक कुन दिन भाग्छ वा बन्द हुन्छ ? ठेगान छैन । सहकारीका बचतकर्ताहरु त डुबि नै हाले । उनीहरुको बिचल्ली भएको छ । अब पनि आफ्नो बचत फिर्ता आउँछ ? भनेर उनीहरुमा आश छैन ।
यद्यपि, अहिले त बैंकका बचतकर्ताहरुको पनि रातको निद्रा र दिनको भोक हराएको छ । बैंक डुब्ने डरले बचतकर्ताहरुको होश हवाज नै गुमेको छ । अब प्राइभेट बैंक, सहकारी, लघुवित्त र फाइनान्सले जति सुकै ब्याज दिन्छु भनेपनि सर्वसाधारण पैसा राख्ने छैनन् । अब कि त सरकारी बैंकमै पैसा राखिन्छ कि घरमै सुरक्षित साथ राखिन्छ भनेर बजारमा सर्वसाधारणहरु कुरा गरिरहेको सुनिन्छ ।
अहिले बाटोमा साग बेच्ने वा मकै पाल्नेलाई बैंक, वित्तिय संस्थामा निक्षेप जम्मा गर्नुभएको छ ? भनेर सोध्दा उनीहरु भन्छन्, ‘यस्तो ठग, चोर संस्थामा पनि कसले पैसा राख्छ । बरु, सिरानी मुनि राखेर टाउकोले थिचेर सुतिन्छ ।’ बैंक, वित्तिय संस्था डुबेको छैन, भाग्दैन भनेर जतिसुकै राष्ट्र बैंकले विश्वास दिलाउन खोजेपछि अब सर्वसाधारण पत्याउने छैनन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईले बैंकको ऋण तिर्न नपरोस् भनेर बैंक, वित्तिय संस्था भाग्छ, डुब्छ भनेर अफवाह फैलाएका थिए । तर, अहिले यो सत्य सावित भएको छ । बैंक, वित्तिय संस्था संकटग्रस्त अवस्थामा छन् । यी संस्था कुन दिन भाग्छ ? भनेर ठेगान छैन ।
अझै पनि राष्ट्र बैंक, अर्थ मन्त्रालयले जनतालाई भ्रममा पार्ने काम गर्नुहुन्न । आफ्नो पैसा आफैं सुरक्षित साथ राख्न सरकारले सचेत गराउनुपर्छ । समयमै जनतालाई सचेत गराइदिए भोलि आउने समस्याबाट जनता र सरकार पनि जोगिन्छ । त्यसकारण अब सरकारले जनतालाई बैंक, वित्तिय संस्थामा निक्षेप नराख्दा जनतालाई सतर्क गराउनुपर्छ ।
जनता पनि ब्याजको प्रलोभनमा पर्नुहुन्न । आज ब्याजको लोभ गर्दा भोलि साँबा नै गुम्न सक्छ है । हिजो सहकारीमा ब्याजको प्रलोभनमा सर्वसाधारणले रकम जम्मा गरेका थिए । अहिले सहकारी भागेपछि ब्याज पर्दैन, साँबा मात्र फिर्ता गरिदिनुस् भनेर बिन्ती गर्दा समेत बचतकर्ताहरुले आफ्नो निक्षेप फिर्ता पाएका छैनन् ।
त्यसैले, अब आम सर्वसाधारण पनि ब्याजको प्रलोभनमा पर्नुहुन्न । र, आफ्नो पैसाको सुरक्षा आफैंले गर्नुपर्छ । बुढोपाकाले भन्थे, ‘चोक्टा खान गएकी बुढी झोलमै डुबेर मरी ।’ त्यसरी नै ब्याज खान सहकारीमा रकम राख्दा आज करोडौं बचतकर्ताको खर्बौ रकम डुबेको छ । उभो लागेको खोला कहिल्यै फर्किदैंन भनिन्छ ।
त्यसैले, अहिले सहकारीमा डुबेको बचतकर्ताहरुको रकम पनि फिर्ता आउने छैन । सरकारले सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीहरुलाई कारबाही गर्छ । तर, त्यो डुबेको रकम भने फिर्ता आउने छैन । सहकारी ठगीकै आरोप लागेका रवि लामिछाने अहिले गृहमन्त्री छन् । त्यस्तै, जीबी राई भने फरार छन् ।
यसरी सहकारी ठगीको आरोप लागेको एक व्यक्ति झण्डावाला गाडी चढेर हिँडेका छन् भने अर्को फरार छन् । अनि बचतकर्ताको रकम फिर्ता कसरी आउँछ ? डुबिसकेको रकम फेरि फिर्ता आउँछ भनेर कसैले पनि नसोच्दा हुन्छ । सहकारीमा एकै बचतकर्ताको लाखदेखि करोड डुबेको छ।
जीवनभरको कमाइ अनि पुख्र्याैली सम्पत्ति समेत बेचेर सहकारीमा जम्मा गरेको रकम सञ्चालकहरु रातारात लिएर फरार भएपछि बचतकर्ताहरुको रवाबासी भएको छ। कतिपयले सहन नसकेर आत्महत्या गरेका छन् भने अधिंकाश डिप्रेसनमा गएका छन् । अब बैंकमा बचत गरेका बचतकर्ताहरुको पनि यस्तै हालत हुनेछ।
बुढोपाकाले भन्थे, ‘दुहुनो भैंसी किन्दा पाडो सित्तैमा पाइन्छ। अहिले बजारमा जग्गा किन्दा घर सित्तैमा सुनिन्छ । सामाजिक सञ्जालहरुमा पनि जग्गा किन्दा घर सित्तैमा भनिरहेको छ्यापछ्याप्ती भेटिन्छ। दलालीहरुले घरजग्गा, गाडी र सेयरको मूल्य बढाएका थिए । तर, अहिले बजार मन्दीमा यसपछि यसको पनि मूल्य घटेको हो।
घरजग्गा, गाडी र सेयरको किनबेच ठप्प भएपछि बैंक, वित्तिय संस्थाहरु पनि टाट पल्टिएका हुन्। अध्ययन नै नगरी घुसको आडमा आँखा चिम्लेर बैंक, वित्तिय संस्थाका अध्यक्ष, सञ्चालकहरुले घरजग्गा, गाडी र सेयरमा कर्जा लगानी गर्दा आज बचतकर्ताहरुलाई नि डुबाए र आफु पनि भाग्नुपर्ने अवस्थामा पुगे।