सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

फाइल तस्वीर

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै छन्। गत फागुन २३ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनाका लागि दिउँसो तीन बजे प्रदेश सभा बैठक बोलाइएको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठुलो दल कांग्रेसका १८ सांसद छन्। बहुमतका लागि २७ सांसद चाहिन्छ।

गठबन्धनसँग माओवादीका १० (सभामुख बाहेक), एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन्। मुख्यमन्त्री शाहलाई बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टीको भूमिका निर्णायक छ। प्रदेशसभामा नाउपाका ७ सांसद छन्। त्यसैले बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टीकै समर्थन चाहिन्छ।

त्यसो त मुख्यमन्त्री शाहले सरकार टिकाउनकै लागि प्रदेशसभामा सात सदस्य रहेको नाउपाका पाँच जनालाई मन्त्री बनाएका थिए। नाउपाका २ जना प्रदेशसभा सदस्यले मत नदिने बताइसकेका छन्।

नाउपाका एक जना सांसदले पनि विश्वासको मत नदिँदा सरकार जोगिने सम्भावना रहँदैन। त्यसैमा राप्रपा र स्वतन्त्र सांसदको मत पनि मुख्यमन्त्री शाहलाई अनिवार्य छ।

कांग्रेसका सबै, नाउपाका सबै राप्रपा र स्वतन्त्रले पनि मत दिँदा ठिक्क बहुमत २७ पुग्छ। तर, नाउपाका संस्थापक रेशम चौधरी र अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठबीचको विवादका कारण त्यो सम्भावना निकै कम रहेको बताइन्छ।

मुख्यमन्त्री शाहलाई नाउपा सुदूरपश्चिम संसदीय दलले विश्वासको मत दिन चाहन्छ तर केन्द्रले विश्वासको मत नदिन भन्दै निर्देशन दिएपछि पार्टीभित्र थप किचलो देखिएको हो।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन पार्टीबाट निर्वाचित सबै ७ जना सांसदलाई सामूहिक पत्र लेखेर निर्देशन दिएकी छन्।

अध्यक्ष श्रेष्ठले पार्टी संसदीय दलको विधान नभएकाले पार्टीको महत्त्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई रहेको दाबी गरेकी छन्।

यता नागरिक उन्मुक्ति पार्टी ९नाउपा० सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ।