नेपाली पूँजी पलायन हुन दिँदैनौ: मन्त्री भण्डारी
काठमाडौं । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पूँजीलाई पलायन हुन नदिने बताउनुभएको छ।
दोलखाको जिरीमा दोस्रो जिरी महोत्सवको उद्घाटन समारोहमा उहाँले लगानीमैत्री वातावरण बनाउन सरकारले आगामी लगानी सम्मेलनमा पहिलो प्राथमिकता स्वदेशी लगानीकर्तालाई दिइएको बताउनुभयो।
उहाँले भन्नुभयो,नेपालको पूँजीलाई पलायन हुन दिँदैनौँ, पूँजी पलायन हुने खतरा बढेको छ, लगानीको पहिलो प्राथमिकता हामी स्वदेशी लगानीकर्तालाई दिँदै छौँ, बाह्य लगानीकर्तालाई पनि हामीले आब्हान गरेका छौँ, बाँह्य पूँजीलाई पनि हामी नेपालमा भित्र्याउन चाहन्छौँ।
मन्त्री भण्डारीले सरकार लगानी सम्मेलनको तिव्र तयारीमा जुटेको उल्लेख गर्दै लगानीमैत्री वातावरण बनाउन विद्यमान कानुन निर्माण र संशोधन गर्न सरकार लागिपरेको बताउनुभयो। उहाँले लगानी सित सम्बन्धित कानुन संसद्मा छलफलका क्रममा रहेका जानकारी गराउनुभयो।
लगानीकर्ताको लगानी सुरक्षित बनाउन सरकार दृढ संकल्पका साथ कानुन निर्माण तथा संशोधन गर्न लागेको जानकारी गराउँदै मन्त्री भण्डारीले नेपालको स्वाभिमान सित नबाँझिने गरेर वैदेशिक लगानी भित्र्याइने बताउनुभयो।
उहाँले नेपालमा पर्यटन, उर्जा तथा अन्य स्वदेशी वस्तुको प्रयोग गरेर उद्योग सञ्चालनको वातावरण राम्रो रहेको बताउनुभयो।
जनतामा रहेको निराशालाई चिर्दै सरकार आशा जगाउँदै ठोस योजनाका साथ अघि बढेको दोहो¥याउँदै उहाँले राष्ट्रिय समस्याको पहिचान गरेर समाधान गर्नुपर्नेमा जोड दिनुभयो।
मन्त्री भण्डारीले उत्पादन भएका बस्तुले बजार नपाउँदा र पूँजी चलायमान नहुँदा आर्थिक गतिविधि घटेकामा चिन्ता व्यक्त गर्नुभयो।
चालु अधिवेशनमा कानुन संशोधन गरेर अहिलेको आर्थिक समस्या समाधान गर्न सरकार लागिपरेको उहाँको भनाइए थियो। तीन तहका सरकारबीच समन्वय गरेर अघि बढ्ने सङ्घ सरकार अघि बढेको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो,उत्पादन अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दैछौँ, ब्याजमा अनुदान दिने कार्यक्रम पनि ल्याउँदैछौ, स्थानीय सरकारसँग समन्वय गरेर प्रविधि हस्तान्तरण कार्यक्रम ल्याउने तयारी छ,स्वदेशी वस्तुको प्रवद्र्धन गर्न अधिकतम रुपमा नेपाली वस्तु उपभोग गर्ने अभियान सरकारले चलाउँदै छ।