काठमाडौं महानगरका मेयर बालेनको दादागिरी,फोहोरको रिपोर्टिङ गर्न गएका पत्रकार बाटोमै रोकिए
काठमाडौं । बञ्चरेडाँडामा अव्यवस्थित र अवैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन भइरहेको भन्दै स्थानीयले पटक पटक आन्दोलन गर्दै आइरहेका छन्।
खानाभन्दा पहिला मुखमा झिङ्गा पसेको गुनासो पनि स्थानीयको छ। फोहोरकै कारण अनेक रोग लाग्न थालेपछि गाँउ नै सखाप हुने स्थिती बनिसकेको छ।
चुनावताका चुट्कीको भरमा समाधान गर्छु भन्दै बोल्ने मेयर बालेन्द्र साहले फोहोर व्यवस्थापनलाई न वैज्ञानिक बनाउन सके न त स्थानीयसँगको सम्झौता नै कार्यान्वयन गराउन सके।
फोहोर व्यवस्थापन र स्थानीयसँग गरिएको सहमतिमा चुकेको काठमाडौँ महानगरले फोहोरको विषयमा सञ्चारकर्मीलाई रिपोर्टिङ गर्न समेत निषेध गरेको छ।
विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले शनिबार बिहान अवरोध गरे। तर प्रहरीले दुई दर्जन स्थानीयलाई नियन्त्रणमा लिएपछि स्थिति सामान्य बन्यो।
११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएको मागको सुनुवाइ नभएपछि शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहोर विसर्जनमा रोक लगाइएको स्थानीयको भनाइ छ। तर शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएको स्थानीयको आरोप छ।
केही दिनअघि मात्रै कांग्रेस नेता तथा सांसद अर्जुननरसिंह केसीले बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावितहरुसँग गरिएको सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
स्थानीयले आन्दोलनको कार्यक्रम गरेपछि केसी ऐक्यवद्धता जनाउन शनिवार बञ्चरेडाँडा पनि पुगेका थिए।केसी पुग्नु अघि नै सञ्चारकर्मी समेत बन्चरेडाँडा पुगिसकेका थिए। तर सञ्चारकर्मीलाई डम्पिङसाइट प्रवेश दिइएन।
आफूलाई महानगरको कर्मचारी बताउने केही युवाहरूले सञ्चाकर्मीमाथि आक्रमणको प्रयास पनि गरेका थिए। सञ्चाकर्मीलाई प्रवेश गर्न नदिए आफू पनि डम्पिङसाइट नजाने भन्दै केसी गेटमा नै धर्ना बसे।
उपत्यकाको फोहोर व्यवस्थापनलाई वैज्ञानिक,व्यवस्थित,प्रतिफलमुखी र वातावरणमैत्री बनाउने भन्दाभन्दै फोहोर फाल्ने क्षेत्रमा मानवीय स्वास्थ्यमा ठूलो समस्या देखा पर्न थालिसकेको स्थानीयको गुनासो छ।
फोहोरका कारण नुवाकोटको ओखरपौवा र बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्र उजाड बन्दै गइरहेको छ। फोहोर व्यवस्थापनको जिम्मेवारी लिएका सरोकारवाला निकायहरु फोहोर व्यवस्थापनप्रति चिन्तित छैनन्।
स्थानीयसँग बारम्बार गरिएका सम्झौताहरू कार्यान्वयनमा कसैले पनि इमानदारिता नदेखाएको भन्दै स्थानीय आक्रोशित छन्।उपत्यकाको फोहोरकै कारण सो क्षेत्रमा मानिसदेखि पशुपक्षी र खेतीपातीमा समेत विभिन्न रोग लाग्ने प्रकोप नै फैलिएको छ।
फोहोरको दूषित गन्ध हावामा मिसिदाँ अधिकांसको श्वासप्रस्वासमा समस्या देखिन थालेको छ।फोहोरकै कारण यस क्षेत्रको सामाजिक संरचना समेत बिग्रिन थालेको छ। फोहोर गाउँको परिचय बनाएको यस क्षेत्रका युवाहरुले विवाहका लागि युवती नै नपाउने समस्या समेत छ।
सरकारले फोहोर व्यवस्थापनको वैज्ञानिक उपाय अवलम्वन गर्न नसक्दा वा गर्न नचाहँदा सिसडोल र बञ्चरेडाँडामा मानव स्वास्थ्यमाथि खेलबाड त गरेको छ नै मान्छेको बाँच्न पाउने नैसर्गिक अधिकारमाथि पनि निर्मम हमला गरिरहेको छ।