लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर

काठमाडौं। गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने दोषी ठहर भएका छन्। २०७८ सालमा न्यौपानेसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो।

आइतबार विशेष अदालतका न्यायाधीशद्वय टेक नारायण कुँवर र रामबहादुर थापाको इजलासले न्यौपानेको कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेस गर्ने आदेश दिएको छ।

सजाय निर्धारणका लागि वैशाख १६ गते पेशी तोकिएको छ। प्रतिवादी बनाइएका रामरत्न उपाध्यायसहित अन्य ८ जनालाई भने सफाइ दिइएको छ।

न्यौपानेसहित कलेजका तत्कालीन सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो। न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोप थियो।