काठमाडौं उपत्यकाको आकाशबाट तुवाँलो नहट्ने,वायु प्रदूषण अत्यन्तै अस्वस्थकर

फाइल तस्वीर

काठमाडौं। हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावले पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताए। उनका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस तथा अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने मौसमविद् झाले बताए। उनले भने, “आज काठमाडौँमा तुवाँलो लागेको छ,केही समय आकाश खुलेपनि तुवाँलो पूर्णरूपमा हट्ने सम्भावना छैन।

काठमाडौंको वायु प्रदूषणको स्तर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ। विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान साढे आठ बजेसम्म नेपालको राजधानी काठमाडौं वायू प्रदूषणको हिसाबले विश्वमै पहिलो स्थानमा छ। आईक्यू एयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २४१ छ।

पाकिस्तानको लाहोरको २०६ र भारतको नयाँदिल्लीको २०४ एक्युआई छ। एक्युआई २०० भन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर मानिन्छ। यस्तो अवस्थामा मानिसहरुलाई घरबाट ननिस्किन सुझाव दिने गरिन्छ।

काठमाडौं उपत्यकाभित्र पनि खुमलटार, रत्नपार्क र भक्तपुरको वायु प्रदूषण अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ। नेपालको वातावरण विभागले आज बिहान गरेको मापन अनुसार खुमलटारको एक्युआई २५९, रत्नपार्कको २३२ र भक्तपुरको २१७ छ।