वैशाखका लागि बैंकहरूले घटाए ब्याजदर,कुन बैंकको कति ?
काठमाडौं। वाणिज्य बैंकहरुले वैशाखका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। चैतको तुलनामा अधिकांश ब्याजदर घटाएर बैंकहरुले वैशाखका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्।
२० वटा वाणिज्य बैंकहरुमध्ये १३ वटा बैंकहरुले ब्याजदर घटाएका छन् भने ५ वटाले स्थिर र दुईवटाले केही वृद्धि गरेका छन्।
नेपाल बैंक,लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक,प्रभु बैंक,राष्ट्रिय वाणिज्य बैंक,ग्लोबल आईएमई बैंक,सिद्धार्थ बैंक,प्राइम कमर्सियल बैंक, कुमारी बैंक,सानिमा बैंक,एसबीआई बैंक, सिटिजन्स बैंक र एनआईसी एसिया बैंकले वैशाखका लागि ब्याजदर घटाएका छन्।
यस्तैगरी,सरकारी बैंक कृषि विकास बैंकसहित स्ट्यान्डर्ड चार्टर्ड,नबिल,हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ब्याजदर स्थिर राखेका छन्। तर, एभरेस्ट बैंक र एनएमबी बैंकले भने चैतको तुलनामा वैशाखका लागि केही ब्याजदर बढाएका छन्।
चैत महिनाका लागि औसत ५ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म ब्याजदर तोकेका बैंकहरुले वैशाखका लागि ०.१९ प्रतिशत विन्दुले ब्याजदर घटाउँदै ७.०६ प्रतिशत कायम गरेका छन्।