राप्रपाको प्रदर्शनमा घाइते भएका नेता डाँगीको निधन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गत मंगलबार काठमाडौंमा गरेको जनप्रदर्शनका क्रममा घाइते भएका नेता ठाकुर प्रसाद डाँगीको निधन भएको छ।

बर्दियाको मधुवनी राप्रपाको नगर अध्यक्ष समेत रहेका डाँगीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ४ बजे निधन भएको हो।

राप्रपाको जनप्रदर्शनका क्रममा प्रहरीले फ्याँकेको अश्रुग्याँसबाट सिकिस्त भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।

उच्च रक्तचापबाट समेत पीडित उनलाई अश्रुग्यास प्रहारबाट टाउको र श्वासप्रस्वासमा समस्या देखिएको थियो। उनको शवलाई श्रद्धाञ्जलीका लागि आज १२ बजे पार्टी कार्यालयमा राखिने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।