भूकम्प प्रभावितलाई स्थायी आवासको व्यवस्था गर्न गृह मन्त्रीको निर्देशन

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भूकम्प प्रभावितलाई स्थायी आवासको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन्। वर्षात अघि नै जाजरकोटलगायतका भूकम्प प्रभावितलाई स्थायी आवासको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

सोमबार सिंहदरवारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २१ औँ बैठकमा बोल्दै उपप्रधानमन्त्री लामिछानेले भूकम्प पीडितको अधिकार सङ्कुचन नहुने गरी सहकार्यका साथ काम गर्न सम्बन्धित मन्त्रालयलाई पनि आग्रह गरे।

अन्तर मन्त्रालयले पनि पीडितको स्थायी आवास निर्माणको कामलाई छिटो छरितो ढंगले सम्पन्न गर्नका लागि आवश्यक सहकार्य गर्न उपप्रधानमन्त्री लामिछानेको अपिल थियो।

प्रक्रियागत अलमलहरू र कानूनी जटिलताहरूको मारमा पीडितहरू पर्न नहुने कुरामा पनि हेक्का राखेर काम गर्न उनले सम्बन्धित पक्षलाई सचेत गराए।

उपप्रधानमन्त्री लामिछानेले सरकारले भूकम्प पीडितहरूको घरभित्र बस्न पाउने अधिकार हनन नहोस् भन्ने कुरामा सरकार गम्भीर भएर लागि परेको पनि बताए।

उपप्रधानमन्त्री लामिछानेले प्रभावितलाई राहत हुने कुरामा हुने ढिलाइको विषय सबैभन्दा बढी गुनासोको रूपमा आउने गरेको उल्लेख गर्दै त्यस्तो अवस्था आउन नदिन पनि सम्बन्धित पक्षले विशेष ख्याल राख्नुपर्ने बताए।