एसीसी प्रिमियर कप: पहिलो पटक नेपाल साउदी अरेबियासँग खेल्दै

फाइल तस्वीर

काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा आज साउदी अरेबियासँग खेल्दैछ। खेल मध्यहान्न ११:४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा सुरुहुनेछ।

नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ। त्यसैले आजको खेल नेपाललाई प्रतिष्ठाका लागि मात्रै हुनेछ।

साउदी अरेबिया ३ खेलमा २ मा हार र एकमा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ। नेपाललाई हराउन सके ४ अंकका साथ सेमिफाइनल खेल्ने साउदीको बलियो सम्भावना छ।

नेपालले सेमिफाइनल अघि दीपेन्द्रसिंह ऐरीसहित केही खेलाडीलाई विश्राम दिनसक्छ। बेन्चमा भएका अनिलकुमार शाह र प्रतिश जि.सीले मौका पाउन सक्छन्।

नेपालले मलेसियालाई ५ विकेट,कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो। साउदीले हङकङविरुद्ध २०२ रन बनाउँदै ५५ रनको जित हात पारेको थियो। मलेसियासँग १२ रन र कतारसँग १५ रनले हारेको थियो।

साउदीका कप्तान हिशाम शेख, ओपनर अब्दुल वाहिद र स्पिनर जैन उल अबिदीन प्रमुख हतियार हुन् । मनान अली साउदीका क्लिन हिटर हुन्।

नेपालले टी-२० आईमा साउदी अरेबियासँग पहिलो पटक खेल्दैछ। यता कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका नेपालका दीपेन्द्र प्रमुख हतियार हुन्। दीपेन्द्र, कुशल भुर्तेल र कुशल मल्ल नेपाल मुख्य खेलाडी हुन्।

नेपालले सेमिफाइनलमा यूएईसँग खेल्ने सम्भावना छ। समूह बी मा ओमान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कुवेत ३ खेलमध्ये २ मा जित र एउटामा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ। यूएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ।

बहराइन ३ खेल र कम्बोडिया २ खेलमा अंक विहीन हुँदै पुछारमा छन्।

आज ओमानले कुवेत र यूएईले कम्बोडियासँग खेल्दैछन्। ओमान र यूएई दुवै सहज रुपमा विजयी हुने सम्भावना छ। त्यसैले नेपाल र यूएई सेमिफाइनलमा भिड्ने समीकरण देखिन्छ।

नेपाल समूह ए मा ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ। कतार ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ। साउदी ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ।

मलेसिया र हङकङ पनि समान ३ खेलमा १ मा जित र २ मा हारसहित चौथो र पुछारमा छन्। आज मलेसिया र हङकङबीच खेल हुँदैछ। ४ अंकका साथ सेमिफाइनल खेल्न दुवै टोलीले फराकिलो जित हात पार्नुपर्छ।

सेमिफाइनल शुक्रबार,तेस्रो स्थानको लागि शनिबार र फाइनल आइतबार हुनेछ। प्रतियोगिता विजेताले टी-२० एसिया कप खेल्न पाउनेछ।शीर्ष तीन टोली एसीसी इमर्जिङ टिम्स एसिया कप पनि खेल्न पाउनेछन्।