आगो लगाएको आरोपमा दुई जना पक्राउ
गुल्मी । गुल्मीमा आगो लगाएको आरोपमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रेसुंगा गाउँपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षत्री र ४१ वर्षीय राजु जिसी छन्।
डिभिजन वन कार्यालय गुल्मीका अनुसार उनीहरुलाई स्थानीय सिस्न्यारा पातल सामुदायिक वनमा वैशाख ७ गते आगो लगाएको आरोपमा पक्राउ गरिएको हो। आरोपी दुवै जनाले वनमा आफूहरुले आगो लगाएको स्विकारिसकेको कार्यालयको भनाइ छ।
डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पंकजकुमार ठाकुरका अनुसार उनीहरुलाई नेटा बजारबाट वैशाख १७ मा पक्राउ गरिएको थियो । उनीहरुलाई वन ऐन २०७६ मार्फत आगो लगाएको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ।
पक्राउ परेका उनीहरुलाई तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत ठाकुरले बताए। वनजंगलमा मानवीय कारण आगलागी हुँदा त्यसले ठूलो क्षति पु¥याउने उनको भनाइ छ।
हाल गुल्मीका १२ स्थानीय ८० सामुदायिक वनमा आगो लागेको छ। आगलागीबाट २ हजार बढी हेक्टर क्षेत्रफल नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ।