६ जना सचिव सरुवा भए
काठमाडौं। ६ जना सचिवलाई सरकारले सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिव सरुवाको निर्णय गरेको हो।
कृषि मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालयमा सरुवा भएका छन् भने उनका स्थानमा वन मन्त्रालयका सचिव डा दीपककुमार खराललाई ल्याइएको छ।
पशुपन्छीतर्फको सचिव डा रेवतीरमण पौडेल कृषि सचिवमा सरुवा भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनीकी सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ।
त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव डा गणेशप्रसाद पाण्डेयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा र त्यहाँका सचिव डा दीपक काफ्लेलाई शिक्षा मन्त्रालयका सचिव बनाएर पठाइएको छ।