अग्नि पीडितलाई काठमाडौं महानगरले १०/१० लाख सहयोग गर्ने

काठमाडौं। काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दुई जिल्लाका दुई गाउँपालिकालाई राहत स्वरूप १०/१० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

महानगरका अनुसार दाङको राजपुर गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकाका अग्नि प्रभावितलाई सो रकम अनुदान सहायता स्वरूप सहयोग गर्ने भएको हो।

आगलागीबाट घर,गोठ,पशुचौपाया र धन सम्पत्ति क्षति बेहोरेका पीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय भएको महानगर विपद् व्यवस्थापन समितिले जनाएको छ। यो रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइने निर्णय भएको महानगरले जनाएको छ।

दाङको राजपुर गाउँपालिका-७ स्थित हाटबास क्षेत्रमा १६ वैशाखमा आगलागी हुँदा २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएको थियो।

यस्तै ८ र ९ वैशाखमा गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी हुँदा २८ वटा घर र ५१ वटा गोठ जलेर नष्ट भएको थियो।

काठमाडौं महानगरले यसअघि महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो।