विदेशीले खाद्यान्न नपठाए नेपाली भोकभोक मर्नुपर्ने अवस्था,राजनीतिक दलका नेताहरु अझै पनि जनतालाई पारिरहेका छन् भ्रममा
रुषा थापा
अहिले विश्वका कतिपय मुलुकबीच युद्ध चलिरहँदा कतिपय देशमा बाढी आएको छ । यसले त्यहाँबाट खाद्यान्न निर्यात ठप्प भएको छ। र, यसको प्रत्यक्ष असर नेपालमा परेको छ।
अहिले ती मुलुकबाट मकै, गहुँ, चामललगायतका अन्न तथा खाद्यान्न नेपाल आयात हुन छोडेको छ। आयात भएपनि आम सर्वसाधारणले किनेर खानै नसक्ने महँगो छ । बजारमा व्यापारीहरु भन्छन्, ‘मकै, गहुँ, चामल नै आएको छैन।
कतिपय व्यापारी भने मूल्य हवात्तै बढेर आएको बताउँछन्। नेपालमा विदेशी मुलुकबाट ठुलो मात्रामा खाद्यान्न आयात हुने गरेको छ । हाम्रो देश खाद्यान्नमा आत्मनिर्भर छैन।
यहाँ गुन्द्रक समेत बाहिरबाट ल्याइन्छ । यद्यपि,अहिले विदेशी मुलुकले खाद्यान्न तथा अन्न निर्यात रोकिदिँदा नेपालमा समस्या आइपरेको छ। विदेशीले खाद्यान्न नपठाए नेपालमा भोकमरी सुरु हुने विज्ञहरु नै बताउँछन्।
अहिले नै बजारमा खाद्यान्न तथा अन्नको मूल्य हवात्तै बढेको छ। तर, सरकारलाई केही मतलब छैन। जनतालाई कसरी बचाउने ? कहाँबाट खाद्यान्न ल्याउने ? भनेर सरकार गम्भीर बनेको छैन।
पछिल्लो समय गाउँदेखि सहरसम्मका मानिसहरुले खाद्यान्न किनेर खान्छन्। किनकि खेतीयोग्य जमिनमा घर र बाटो बनिसकेको छ। अन्न उत्पादन गर्न जमिन छैन । छिमेकी देश भारत र चीनले कतिन्जेल नेपाललाई खाद्यान्न पठाइरहन्छ र ?
आफ्रनै देशमा खाद्यान्न अभाव भयो भने उसले नेपाललाई खाद्यान्न पठाउँछ त ? विदेशीले खाद्यान्न त पठाउँलान् तर सिस्तैमा पठाउँदैनन् नि त। खाद्यान्न अभाव भएपछि झनै चर्को वा महगो मूल्यमा किन्नुपर्ने हुन्छ।
यसले एकातिर मुलुकको पैसा सबै विदेशिने र पैसा नहुने गरिब जनता भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना हुनेछ। नेपाललाई विश्वमा कृषि प्रधान मुलुक भनिन्छ। सरकार हरेक वर्षको असार १५ गते धान दिवस मनाउँछ।
मुलुकको खेतीयोग्य जमिन जति सबै प्लाटिङ वा खण्डीकरण गरी घर तथा बाटो बनाएर मासिसकिएको छ । २०३१÷०३२ सालसम्म नेपालले विभिन्न देशमा खाद्यान्न निर्यात गथ्र्यो।
कतिपय देशलाई त खाद्यान्न अनुदानमा समेत दिन्थ्यो। अहिले विदेशीले खाद्यान्न नपठाए हामी नेपाली भोकभोकै मर्नुपर्ने अवस्था आएको छ। हामी नेपालमा बस्छौं। नेपाली नागरिकता बोक्छौं। बिडम्बना, खाद्यान्न चाँहि बाहिरी देशमा फलेका खान्छौं।
हाम्रो भान्छामा पाक्ने हरेक वस्तु विदेशबाट नै आयात गरिएको हुन्छ। खाना पकाउन पनि विदेशबाट आयात गरिएको ग्याँस र विद्युतीय चुल्हो प्रयोग गरिन्छ।
सवारीसाधन, मोबाइल, लत्ताकपडा, फर्निचर, औषधीहरु पनि बाहिरी देशबाटै आउँछ। हाम्रो देश कुनै पनि वस्तु तथा सेवामा आत्मनिर्भर बन्न सकेको छैन। हरेक चिजमा विदेशीको भर पर्नुपरेको छ।
विदेशीले पन्ध्र दिन खाद्यान्न निर्यातमा रोक लगाए वा छिमेकी मुलुक भारतले नाकाबन्दी गरे यहाँ ठुलो खाद्यान्न संकट निम्तिनेछ। र, सरकारको अझै पनि यसतर्फ ध्यान गएको छैन।
भूमि मन्त्रालय र कृषि मन्त्रालयले कहिल्यै खेतीयोग्य जमिन बचाउन खोजेनन्। आफ्नो देशको जमिन सकाएर अन्य देशको खाद्यान्न तथा वस्तु बिक्री गर्ने स्थल नेपाल बनाइयो।
यता, भूमाफिया तथा दलालीहरुले खेतीयोग्यसहित सबै जमिन प्लाटिङ गरेर सकाए। डाँडाकाँडा समेत छोडेनन्। एक रोपनी जग्गामा १६ आना हुन्छ । तर, रोपनीको लाखमा किनेर आनाकै ७०÷८० लाखमा बेचे, दलालीहरुले। अहिले महँगोमा जमिन किन्ने र सस्तोमा बेच्ने डुबेका छन्। बीचमा बस्ने माफिया, दलालीहरुले चाँहि कमाउनु कमाए।
खेतीयोग्य जमिन सबै प्लाटिङ वा खण्डीकरण गरेर सकिदा आज मुलुकमा खाद्यान्न संकट निम्तिने संकेत देखिएको छ । यता, भूमि मन्त्रालय अझै पनि घरजग्गा कारोबारबाट यति राजस्व उठ्यो भन्छ।
जनतालाई भोकमरीबाट कसरी बचाउने भन्नेतर्फ मन्त्रालयको ध्यान गएको छैन। नौं दशकअघि नेपालको जनसंख्या करोड पनि थिएन। यद्यपि, जमिन चाँहि धेरै थियो। त्यसबीच भारत र चीनले हाम्रो देशको अधिकाश भूभागमाथि कब्जा गरे।
०७८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ। नौं दशकको बीचको नेपालको जनसंख्या हवात्तै बढेको छ। तर, भूमि चाँहि घटेको छ।
भारत र चीनले कब्जा गरेर बाँकी भएके जमिन पनि घर र बाटो बनाउँदा मासिएको छ। अब सरकारले जनतालाई के खुवाएर बचाउँछ ? घरको इट्टा टोक्न मिल्दैन त बाटो पिच गरेको अलकत्र्रा खान मिल्दैन।
मानिस खाद्यान्न बिनाबाँच्न सक्दैन। बाँच्नको लागि खाना नै चाहिन्छ। सरकारी कर्मचारी, राजनीतिक दलका नेताहरु नै दलाली हुँदा आज जनता खाना नपाएर वा भोकमरीका कारण मर्नुपर्ने स्थिति निम्तिएको छ।
जनताले पनि राजनीतिक दलहरुले आफ्नो देश सखाप बनाए भनेर बुझेनन्। राजनीतिक दलहरुले नेपाललाई विश्वका देशहरुको खाद्यान्न बिक्री गर्ने एउटा थलो बनाए। आफ्नो देशलाई कंगाल बनाएर विदेशी देशलाई धनी बनाए।
अझै पनि राजनीतिक दलका नेतहरु ठुल्ठुल्ला भाषण गर्छन्। राष्ट्र, राष्ट्रियता र जनताको कुरा गर्छन्। अब जनताले देशलाई सखाप पार्ने यस्ता नेताहरुको कुरामा विश्वास गर्नुहुन्न।
कर्मचारी र नेताहरु आफुलाई देश र जनताको सेवक बताउँछन्। तर, यीनीहरु देश र जनताको लागि विषालु सर्प चाँहि हुन्। जसले आफ्नो फाइदा वा स्वार्थको लागि जे पनि गर्न सक्छ। हामी सर्वसाधारण पनि प्रलोभनमा पप्यौं। लहैलहैमा लागेर सोच्दैनसोची जथाभावी लगानी गरौं।
अरुले कमाएको देख्नेबित्तिकै ऋण लिएर भएपनि त्यही क्षेत्रमा लगानी गरौं । दलालीको लहैंलहै लागेर सर्वसाधारणले आफुले जीवनभर कमाएको वा बैंक तथा वित्तिय संस्थाबाट समेत ऋण लिएर घरजग्गा, गाडी र सेयरमा लगानी गरे।
अहिले यस क्षेत्रमा मन्दी आउनासाथ सर्वसाधारण डुबे। मुलुकको अर्थतन्त्रमा समेत ठुलो प्रभाव परेको छ। अर्कोतर्फ सबै जमिनमा घर बनाउँदा खेतीयेग्य जमिन मासिएको छ।
अहिले सरकार भन्छ, ‘राजस्व उठेन। उद्योग खोलेको भए पो राजस्व उठ्थ्यो त। उद्योग खोल्न चाँहि प्रोत्साहन नगर्ने अनि घरजग्गालाई मात्र राजस्वको स्रोत बनाएपछि यस क्षेत्रमा मन्दी आउनासाथ सरकार पनि आत्तिएको छ।
बैंक तथा वित्तिय संस्था र आम सर्वसाधारणको सम्पूर्ण लगानी घरजग्गा, गाडी र सेयरमा छ। अहिले यो क्षेत्रमा मन्दी आएको छ। योसगै व्यक्ति त डुबे नै, बैंक तथा वित्तिय संस्था पनि टाट पल्टियो।
सहकारीको भागाभाग चलेको छ त बैंकमा पनि समस्या आइलागेको छ। सहकारीमा बचत गरेका करोडौं बचतकर्ताको कन्तबिजोग भएको छ। एयरपोर्टमा नेपाली युवाहरुको लाम छ। दिनहुँ हजारौं नेपाली युवाहरु रोजगारीका लागि विदेशिरहेका छन् । अनि दोषी को ? सरकारले समयमै विलासित वस्तुमा नभई उत्पादनमूलक वा औद्योगिक क्षेत्रमा मात्र लगानी गर्न पाइने नीतिनियम बनाएको भए आज यो अवस्था सायद आउँदैन थियो।
आफ्रनै देशमा सानोतिनो काम गरेर भएपनि जनता बस्थे। तर, बैंक तथा वित्तिय संस्थाहरुले ओद्योगिक वा कृषि क्षेत्रमा लगानी नगरिदिँदा आज सबै नेपाली युवाहरु रोजगारीका लागि खाडी विदेशिनुपरिरहेको छ।
अहिले व्यक्तिहरुको घरजग्गा, गाडी र सेयर बैंकको नाममा छ। प्राइभेट बैंक पनि डुबिसकेका छन्। ०४६ सालपछि सरकारले विदेशीसँग २७ खर्ब ऋण लिइसकेको छ। त्यो पनि देशै धितो राखेर।
अहिले हरेक नेपालीको टाउकोमा लाखौं विदेशी ऋण छ। अझै पनि राजनीतिकदलका नेताहरु चाँहि देश विकास गछौं भनेर ठुल्ठुल्लो भाषण गरिरहेका छन्। नेता र कर्मचारीले मिलेर देश सकाए।
आफ्नो देशलाई सिध्याएर विदेशीलाई धनी बनाए। अनि हामी सर्वसाधारण भने यस्ता राष्ट्रघातकहरुको कुरामा अझै पनिविश्वास गरिरहेका छौं। अब जनताले नेताहरुको कुरामा विश्वास गर्ने होइन। यस्तालाई देशबाट लखेट्ने हो।
सञ्चारकर्मीहरुले पनि देश र जनताको लागि अब कलम चलाउनुपर्छ। देश डुबिसकेको छ। खाद्यान्न संकटको संकेट देखिएको छ। यद्यपि, नेताहरु भने अहिले पनि सर्वसाधारणलाई भ्रममा पारिरहेका छन्। त्यसैले, अब जनताको छिट्टै आँखा खोलास्।