संसद् खुलाउने अन्तिम प्रयासमा प्रधानमन्त्री,कांग्रेससँग छलफलमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन्।
संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न उनले आज बिहान ९ बजे कांग्रेसलाई बालुवाटार बोलाएका हुन्।
जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी छ। तर, कांग्रेसले संसद अवरुद्ध गर्दै आएकाले सहमति जुटाउन प्रधानमन्त्रीले सभापति शेरबहादुर देउवालाई छलफलमा बोलाएका हुन्।
कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ भने सत्तारुढ दल त्यसमा सकारात्मक छैनन्।
शुक्रबारदेखि सुरु भएको बजेट अधिवेशनमा पनि गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनु पर्ने अडान राखेर कांग्रेसले नाराबाजी गरेको थियो। कांग्रेसको अवरोधका कारण आगामी आर्थिक नीति तथा कार्यक्रम अन्यौलमा परेको छ।