शिक्षक तथा कर्मचारीहरूले १५ दिनभित्र दलको सदस्यता त्याग्नुपर्ने

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले शिक्षक तथा कर्मचारीहरूलाई कुनै राजनीतिक दलको कार्यकारी पदमा बसेको वा सदस्यता लिएको भए १५ दिनभित्र राजीनामा दिई सो को जानकारी गराउन सूचना जारी गरेको छ।

शिक्षक तथा कर्मचारीहरूले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित उजुरी आएमा कानून बमोजिम कारबाहीका लागि सिफारिस गर्ने गाउँ शिक्षा समितिको बैठकबाट निर्णय भएको सूचनामा उल्लेख छ। गाउँपालिकाले बिहीबार सूचना जारी गरी शिक्षक तथा कर्मचारीलाई दलको सदस्यता त्याग्न १५ दिनको समय दिएको हो।

गाउँपालिका भित्रका विद्यालयहरूमा कार्यरत कुनै पनि शिक्षक/कर्मचारीहरूले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा बसेको वा सदस्यता लिएको भए १५ दिनभित्र सम्बन्धित राजनीतिक दलबाट राजीनामा दिई सो को जानकारी यस कार्यालयमा पेस गर्न र पछि प्रमाणसहित राजनीतिक दलको सदस्यता सम्बन्धी उजुरी आएमा कानून बमोजिम कारबाहीका लागि सिफारिस गर्ने भनी गाउँ शिक्षा समितिको मिति २०८१/०१/२४ को बैठकबाट निर्णय भएको हुँदा सोही बेहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ,शिक्षा अधिकारी सरस्वती भण्डारीद्वारा जारी सूचनामा भनिएको छ, ‘कपुरकोट गाउँपालिकामा कार्यरत शिक्षक तथा कर्मचारीहरू कुनै पनि राजनैतिक दलको सक्रिय सदस्यता लिइएको वा कार्यकारी पदमा क्रियाशील रहेको भएमा निजहरूलाई उल्लेखित पदहरूबाट राजीनामा गराइ सो को जानकारी पालिकालाई गराइ सार्वजनिक शिक्षा तथा सेवा प्रवाहलाई निष्पक्ष र मर्यादित बनाउन महत्त्वपूर्णमा सहयोगको लागि हार्दिक अनुरोध छ।