क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं।क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

मंगलबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको जाहेरवालाको वकिल लेखनाथ पाण्डे बताए।

‘आज पीडितका तर्फबाट २ जना सरकारी वकिल र निजीबाट २ वकिलले बहस गरे,’ उनले भने,‘पीडितका तर्फबाट ५र६ जना वकिलले बहस गर्न बाँकी छ।

बहसका लागि पेशी चढेको मुद्दा माथिको बहस नसकिएपछि सन्दीप विरूद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको अदालतका प्रवक्ता तीर्थराज भट्टराइले जानकारी दिए।

मुद्दा जटिल भएको हुँदा लामो बहस भएको थियो उनले भने,त्यही भएर आज हेर्दाहेर्दैमा राखिएको छ। बाँकी बहस भोलि हुनेछ।

हेर्दाहेर्दैमा राखिएको मुद्दामा बुधबार फेरि बहस हुने उनले बताए। भोलि बहस सकिएपछि फैसला आउने उनले बताए।

गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो।

पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो। तर जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो।

उक्त पुनरावेदन उच्च अदालतले फागुन ३० दर्ता गरेको थियो। त्यसअघि सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विपरीत उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए। त्यसपछि उनले थुना बाहिर बसेर पुनरावेदन गर्ने सुविधा पाएका थिए।