सन्दीपको मुद्दामा आज पनि सुनुवाइ हुने,फैसला आउने सम्भावना

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ। उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको हो। न्यायाधीशद्वयले यो मुद्दामा हिजो बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि बहस पूरा हुन सकेन। बहस नसिकएपछि हेर्दाहेर्दै आजका लागि पेशी राखिएको हो।

हिजो सरकारका तर्फबाट रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गरेका थिए। उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस गरे।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा,रमण श्रेष्ठ,कृष्ण सापकोटा,मुरारी सापकोटा,सरोजकृष्ण घिमिरे,रामनारायण विडारी र रोशनी पौडेल लगायतले बहस गरेका थिए।

बहसका क्रममा उनीहरुले लामिछाने निर्दोष भएको दाबी गरेका थिए। अब न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासले नै सन्दीपको मुद्दाको फैसला गर्नेछ।

गत पुस २५ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए।