ओली र प्रचण्डको रवि सक्ने दाउ: यसरी सफल हुँदैछ काँग्रेस,खतरामा रवि

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने दोस्रो पटक सत्तामा फर्किदा जति गदगद थिए सत्ता यात्राको दुई महिना नबित्दै उनी खर्लप्प गलिसकेका छन्। सत्तामा उनको उदयसँगै सुरु भएको सहकारी प्रकरणले रवि हायलकायल छन्। सहकारीकै गलपासोले आफ्नो राजनीति सक्किने डरमा रवि छन्।

गत फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता उलटफेर गरेपछि दोस्रो पटक बडो जोशका साथ सत्तामा कमब्याक गरेका रवि लामिछाने जुन जोशका साथ सत्तामा फर्किएका थिए दुई महिनामा फतक्कै गलिसकेका छन्।

सहकारी ठगी प्रकरणमा लामिछानेमाथी छानविन गर्न संसदीय छानविन समिति बटमलाईन बनाएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रविलाई लखेटी रहेको छ।

प्रतिपक्षको खेदाईमा परेका उनी आत्मसमर्पण वा सरकारबाट आउट हुने भन्ने द्विविधाको संकटमा छन्। सडकदेखि सदनसम्मै कांग्रेसको खेदाईले हैरान रविले सदनमा बोल्न पाउनुपर्ने माग निरन्तर उठाइरहेका छन्।

आफुमाथी लागेको यत्ति ठूलो आरोपमा एक बचन बोल्न पाउँ भन्दै हारगुहार नै गरिरहेका छन्। आफूमाथि घिनलाग्दो मिडिया ट्रायल भएको बताउँदै उनले सामाजिक सञ्जालमा आक्रोशसमेत पोखेका छन्।

संसदीय छानविन समिति बनाउने सवालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भए पनि आफ्नो नाम नै किटान हुने सवालमा रवि तयार नहुँदा यो विषय थप पेचिलो बनेको छ।

यो विषयमा सत्तारुढ गठबन्धन नै दुई धारमा उभिएका छन्। सरकारबाट आफू बाहिरिएर पार्टीलाई सत्तामै राख्ने वा के गर्ने भन्ने विषयमा रवि र रास्वपा छलफलमा छन्।

एकसातामा आधा दर्जन भेट र घनिभूत छलफल गर्दासमेत शीर्ष नेतृत्वले यो विषयलाई निकास दिन सकेका छैनन्। दलहरु आ–आफ्नै अडानमा रहँदा सहमति जुट्न सकेको छैन।

फलत संसद्मा एकपटक बोल्न पाउनुपर्ने रविको चित्कार सुन्ने पक्षमा प्रतिपक्ष देखिँदैन। कांग्रेसले आफ्नो विरोधलाई थप उदण्ड बनाएको छ। हात धोएरै रविको पछि लागेको कांग्रेस कुनै पनि हालतमा ब्याक हुने पक्षमा छैन।

सञ्चारकर्म छोडेर राजनीति रोजेका रास्वपा सभापति रवि लामिछानेलाई चुनाव जति फापेको थियो, त्यसअनुसार सत्ता फाप्न सकेको छैन।

पहिलो पटकको सत्ता यात्रामा नागरिकता विवादले सांसद पदसँगै गृहमन्त्रीबाटै पदमुक्त हुन पुगेका थिए। उपनिवार्चनमार्फत फेरि संसद छिरेका उनलाई अहिले सहकारी प्रकरण गलपासो नै बनेको छ।

यही प्रकरणले आफ्नो राजनीति नै सक्किने चिन्ता पनि उनलाई छ। राजनीतिमा बामे सर्दै गरेका लामिछानेले चुनावमा पुराना दलको घण्टी त बजाइ दिए। तर, सत्तामा पुगेलगत्तै तिनै पुराना दलमध्येको कांग्रेसले उल्टो उनको घण्टी बजाइदिएपछि अहिले उनी हायलकायल बनेका छन्।