संसदीय छानविन समिति गठनको मागमा अडिग रहने कांग्रेसको निर्णय

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठनको मागमा अडिग रहने निर्णय गरेको छ।

शुक्रबार बसेको कांग्रेस संसदीय दल बैठकले हिजोको संसद वैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहरसमेत गरेको छ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सहकारीको रकम ठगीमा गृहमन्त्री लामिछाने संलग्न रहेको पर्याप्त प्रमाण सार्वजनिक भएकोले उनीमाथि छानविनको माग पुनः जोडदार रुपमा राखिएको बताए।

सरकार नै सहकारी ठगीमा लागेकालाई बचाउन लागिपरेको कांग्रेसले ठहर गरेको बताउँदै उनले भने, ‘सरकारलाई यस्ता जनहितविरोधि काममा नलाग्न चेतावनी दिएका छौं।

उनले भने, ‘विपक्षी दल उभियो भने मात्रै पनि संसद अवरोध मानिन्छ। एकजना मात्रै उभिए पनि अवरोध मानिन्छ भनेर सभामुखबाट रुलिङ भएका छन्। तर सिंगो प्रतिपक्षी दल वेलमा नारा लगाउँदै गर्दा बैठक सञ्चालन गर्नु उचित भएन भन्ने ठहर गरिएको छ।

सम्माननीय सभामुखको पद तटस्थता र निस्पक्षताको पद हो। तर, त्यस्तो भूमिका उहाँबाट भएन। हामीले सभामुखलाई तटस्थता र निस्पक्षता कायम राख्न आग्रह गरेका छौं।