प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं। प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेलाई तय गरिएको छ।
बर्खे अधिवेशन आरम्भ भययता नै संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न पाएको छैन।
यद्यपि सरकारले जेठ १ गते आगामी आर्थिक वर्षको नीति, कार्यक्रम भने प्रस्तुत गरिसकेको छ।
सहकारीको बचत हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता रहेको यस प्रकरणलाई संसदीय छानबिन समिति बनाएर जाँचबुझ गरिनुपर्ने बताउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदन अवरुद्ध तुल्याउँदै आएको छ।
शनिबार साँझ सत्तापक्ष र प्रतिपक्षबीच सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन बनाउने सैद्धान्तिक सहमति जुटिसकेको छ।
समितिको कार्यादेश तय गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा समिति पनि बनेको छ।
समितिमा कांग्रेसबाट जीवन परियार, एमालेका प्रमुख सचेतक महेश बर्तौला, रास्वपाका सांसद शिशिर खनाल सदस्य छन्।
समितिको बैठक बसेर कार्यादेशबारे टुंगो लाग्नेछ।प्रमुख प्रतिपक्षी दल कांग्रेसले अघि सारेको माग सम्बोधन भएकाले आज संसद नियमित कार्यसूचीमा प्रवेश गर्ने विश्वास लिइएको छ।