टर्कीका ड्रोनले इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटना भएको ठाउँ फेला पारेको दाबी

काठमाडौं। इरानी राष्ट्रपति इब्राहिम रायसीको खोजीमा टर्कीको ड्रोनले हेलिकप्टर दुर्घटना भएको स्थान पत्ता लगाएको छ।

समाचार एजेन्सी अनाडोलुका अनुसार टर्कीले राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनाको खोजी कार्यमा मद्दत गर्न ड्रोन पठाएको थियो।

एजेन्सीले जारी गरेको ड्रोन फुटेजमा राति पहाडमा कालो दाग देखिएको छ। एजेन्सीका अनुसार फुटेज बाट प्राप्त जानकारी इरानी अधिकारीहरूसँग साझा गरिएको छ।

आइतबार इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लायान चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो। इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति रायसी र विदेशमन्त्री हेलिकोप्टरमा सवार भएको पुष्टि गरेका छन्।

यो हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति पनि सवार थिए। राष्ट्रपति राईसीको खोजीमा आइतबारदेखि व्यापक अपरेसन चलिरहेको छ।