प्रचण्ड र देउवा जुधाएर प्रधानमन्त्री बन्ने दाउमा ओली, माधवको पार्टी फुटाउने कसरत हुँदै
काठमाडौं।संसदमा नेपाली कांग्रेस, माओवादी र रास्वपाको भिडन्त जारी रहँदा राजनीतिक रुपमा सबैभन्दा बढी लाभ एमालेले लिइरहेको छ।
सहकारी प्रकरणले गिरीबन्धु टी इस्टेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथिको मुद्दा कमजोर बनेको छ भने,अरु दललाई भिडाएर सत्ता यात्रासम्मको रणनीति बालकोटले बुनेको छ।
सत्ता राजनीतिमा कांग्रेस–रास्वपा एकअर्कासँग भिड्न र पोल खोलाखोलमै व्यस्त छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कहिले एमाले र कहिले कांग्रेस मिलाउनेमै भ्याइनभ्याई छ। तर, यी सबैको फाइदा यदि कोहीले लिइरहेको छ भने त्यो नेकपा एमाले नै हो।
एमालेलै मन्त्री पाएकै छ, महत्वपूर्ण नियुक्ति पाएकै छ। सरकारका कामको अपजस खेप्नु परेको छैन। अहिले बिग्रिए रवि लामिछाने र उनको पार्टी बिग्रिन्छ र आरोपी बोक्दा काँध गन्हाउने प्रचण्डकै हो। त्यसकारण एमालेलाई हाई सञ्चो छ।
बरु प्रचण्ड र गृहमन्त्रीको काँधमा तोप राखेर आफ्नो राजनीतिक निसाना ओली साँध्दैछन्। त्यसको पहिलो कदम हो, संसदमा कांग्रेस र माओवादीको भिडन्त।
सहकारी प्रकरणमा छानविन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लचक बनेकै बेला ओलीले संसदमा सभामुख प्रयोग गरेर माहोल भाँड्दै आगोमा घिउ थपिदिए।
त्यतिले पनि नपुगेर कांग्रेसकै भोटले ३२ सिटको हैसियत बनाएको माओवादीले कांग्रेसलाई नै अर्को चुनावमा देखाइदिने धम्की माओवादीमार्फत नै दिन लगाए।
हिजो माओवादीले कांग्रेसलाई देखाइदिने चेतावनी दिँदा आज कांग्रेसले माओवादीलाई देखाइदिने धम्की दियो। यसले ओलीले गिरीबन्धु प्रकरणमा आफूमाथि लागेका आरोपको आवाज मत्थर पारिदिएका छन् भने अरु दल भिडाएर आफू वादशाह बन्न खोजिरहेका छन्।
यो नै कांग्रेस–माओवादी भिडाएर राजनीतिक लाभ आफूले लिने ओली रणनीति हो। अब ओलीको अर्को कदम केही दिनमा देखिँदैछ। रविको काँधमा बन्दुक राखेर ओलीले अर्को तोप पड्काउँदैछन्। र त्यसको नतिजाका रुपमा ओलीको सत्तारोहण देखिनेछ।
राजनीतिक दल सम्बन्धी विधेयक औपचारिक रुपमै संसदबाट फिर्ता भइसकेको छ। ओलीको कुटिल चालको सिकार जसपा भइसकेको अवस्थामा केही दिनमै उसको फुटले वैधानिकता पाउनेछ। किनकि विधेयक फिर्ता लिएर सहजै दल फुटाउने गरी अर्को अध्यादेश ल्याउने तयारीमा ओली छन्।
अब उनको मिसन जसपाका सात सांसदको फुटलाई वैधानिक बनाउने र एकीकृत समाजवादी फुुटाउन नपाउने कानुनी अड्चनलाई समेत तोड्दै एकीकृत समाजवादीका पाँच सांसद आफूतिर तान्ने उनको रणनीति देखिन्छ।
अहिले पूर्व एमालेबाट छुटिएर माधव नेपाल पछिको हैसियतमा रहेका राजेन्द्र पाण्डेलाई फकाउन ओलीका दूतहरु पाण्डेको दैलो धाइरहेका छन्।
जहाँ प्रेम आले, किसन श्रेष्ठ लगायतहरुले त ओलीलाई आफ्नो नेता मान्न थाल्दा ओलीले पनि आगामी चुनावमा सूर्य चिह्नबाटै चुनाव लडाउने आश्वासन दिन थालेका छन्।
अब बालकोटको अन्तरकुन्तरको सपनाबारे बुझौँ। बरु ओलीको यो पार्टी फुटको जालमा रास्वपा, माओवादी पनि तत्काल पर्न सक्छन्। तर एमालेमा कुनै पनि असर पर्ने छैन।
किन भने एमालेको संसदीय दलमा तत्कालै फुट आउने सम्भावना देखिँदैन। जसपाको अशोक राई पक्षलाई अध्यादेशमार्फत वैधता दिन सकिए र एकीकृत समाजवादीका पाँच सांसद फकाउन सकिए ओली १२ सांसद आफूतिर तान्न सफल हुनेछन्।
उनीहरुलाई एमालेमै विलय गराएर ९१ सांसदसहित एमाले संसदको ठूलो शक्ति बन्नेछ। र प्रचण्डलाई दिएको समर्थन फिर्ता लिँदै ओली स्वयं प्रधानमन्त्रीका लागि अघि सर्नेछन्।तर यत्ति गर्नका लागि ओलीलाई केही समय भने लाग्नेछ।
त्यति बेलासम्म माओवादी र कांग्रेसको भिडन्त यतिसम्म पुग्नेछ कि माओवादीको नेतृत्वलाई सडक र सदनबाट दबाब दिँदा पनि नगल्दा प्रचण्डलाई यति हुँदा पनि ओली प्रधानमन्त्री बन्न सकेनन् र कांग्रेस–माओवादीको भाँडभैलो कायम रहे कांग्रेस र माओवादी नै देशमा मध्यावधि निर्वाचन घोषणा गर्ने वा प्रचण्डलाई गराउन बाध्य पार्ने रणनीतिमा ओली छन्। त्यसका लागि रास्वपा र एमाले तयार नै छन्।
उनीहरुको दबाब आए प्रचण्डको शक्ति क्षीण बन्नेछ भने,जसरी कोशी प्रदेश मध्यावधिमा जान लागेको अवस्थामा पुरानै अपराधमा फर्किदा कांग्रेसले संसद बहिष्कारकै अवस्थामा पुगेको थियो।
त्यसैगरी कांग्रेससहितको राष्ट्रिय सहमतिमा देशमा मध्यावधि निर्वाचन गराउने लाइन देखिन्छ। यसो गर्न सकिए विगतमा आफूले दुई–दुई पटक गरेको संसद विघटन सही थियो भनेर देखाउने मौकासँगै लागेको कालो टीका मेट्ने रणनीतिमा ओली छन्। समग्रमा भन्दा अरु दल भिडाएर राजनीतिक लाभ आफ्नो पोल्टामा पार्ने ओली रणनीति हो।